‘पुन जाति र भाषा’ नामक पुस्तक विमोचन, ‘मगर जातिलाई फुटाउने षड्यन्त्र’

पोखरा, १२ कात्तिक
पुन समाज नेपालद्वारा प्रकाशित एवं लोकसंस्कृतिविद् डा. तुलसी प्रभास खनालद्वारा सम्पादित पुस्तक “पुन जाति र भाषा”को विमोचन गरिएको छ ।
पोखरामा शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले पुस्तक विमोचन गर्नुभएको हो । पुस्तक विमोचन गर्दै निमित्त कुलपति डा. गुरुङले सबैको सहअस्तित्व स्वीकार्न सके मात्र सभ्य समाजको निर्माण हुने बताउनुभयो ।
पुस्तकका सम्पादक डा. तुलसी प्रभास खनालले अनुसन्धाताले अनुसन्धानसँग मात्र सम्बन्ध राख्ने दाबी गर्दै पुस्तक सम्पादनको अवसर दिएकोमा पुन समाज नेपाललाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । कार्यक्रममा क्षत्री समाज नेपालका अध्यक्ष एवं इतिहासविद् प्रा.डा. दिलबहादुर क्षत्री, इतिहासविद् प्रा.डा. ज्ञानबहादुर कार्कीलगायतले मगर समुदायभित्रका केही थरि पुनहरूले आफ्नो अलग्गै पहिचान खोजेको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यता, पुन समाज नेपालले मगर जातिभन्दा आफ्नो अलग्गै पहिचान खोजिरहेको सन्दर्भमा प्रकाशन गरेको पुस्तक विमोचन हुने बित्तिकै जलाइएको छ । मगर एकता पक्षधरहरूले मगर जातिलाई विभाजन गर्न षड्यन्त्र गरिएको भन्दै सो पुस्तक जलाएका हुन् ।
“मगर जातिलाई फुटाउने षड्यन्त्रको कडा प्रतिवाद गर्छौं”
यसैबीच, नेपाल मगर संघ, केन्द्रीय समिति, कास्की जिल्ला समन्वय समिति र नेपाल पुन मगर समाज, केन्द्रीय समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपालको तेस्रो ठूलो जनसंख्या भएको मगर जातिलाई फुटाउने अभिप्रायले सो पुस्तक प्रकाशन गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर, कास्की जिल्ला अध्यक्ष संगीता पुनमगर र नेपाल पुन मगर समाजका अध्यक्ष हर्कबहादुर पहरे पुनमगर तथा महासचिव खेमबहादुर गर्बुजा पुनमगरले हस्ताक्षर गर्नुभएको छुट्टाछुट्टै विज्ञप्तिमा मगर जातिका मुख्य थरमध्ये पुन थर ऐतिहासिक कालदेखि नै मगर जातिको अभिन्न थरको रुपमा रहेको जनाइएको छ । विज्ञप्तिमा मगर जातिलाई विभाजन गर्ने कुनै पनि किसिमका गतिविधिको मतियार नबन्न प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङ र पुस्तकका सम्पादक डा. तुलसी प्रभास खनाललाई समेत चेतावनी दिइएको छ ।

Advertisment