एक महिने मगर भाषा कक्षाको समापन, मातृभाषा संरक्षणमा प्रदेश सरकारले महत्व दिएको दाबी

पोखरा, १९ कात्तिक
गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालित एक महिने मगर मातृभाषा तथा लिपि लेखन प्रशिक्षणको समापन गरिएको छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा कास्कीको पोखरा महानगरपालिका वडा नं. १४ का दुई स्थान बागलुङ–पोखरा मगर समाजको सभाहल, काजीपोखरी र नेपाल मगर संघ, छिनेडाँडा इकाई समितिको सभाहल, शुभकामनाटोलमा सञ्चालित सो मगर भाषा प्रशिक्षणको शनिबार समापन गरिएको हो । नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशको सहकार्यमा सञ्चालित सो मगर भाषा तथा लिपि लेखन प्रशिक्षणको समापन गर्दै गण्डकी प्रदेश सरकार, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज सुवेदीले गण्डकी प्रदेशमा बोलिने सबै भाषाको संरक्षणका लागि प्रदेश सरकारले विशेष महत्व र चासो दिएको दाबी गर्नुभयो ।


नेपालमा संघीयता लागू भएपछि पहिलोपटक गण्डकी प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानको स्थापना गरेर गण्डकी प्रदेशका कला, संस्कृति, साहित्य र संगीतको विकासको काम थालनी गरेको भन्दै सचिव सुवेदीले सीमित स्रोत, साधनका बावजुद आवश्यकताका आधारमा विभिन्न समुदायको भाषा, संस्कृतिको संरक्षणका लागि आवश्यक सहयोग गरिने बताउनुभयो । “मन्त्रालयको सीमित स्रोत र साधन छ, त्यसका बावजुद हामीले सहयोग गर्छौं”, उहाँले भन्नुभयो, “अरु प्रदेशमा प्रज्ञा प्रतिष्ठान खुलेकै छैनन्, गण्डकी प्रदेशमा पहिलोपटक खुलेको छ, हामी भाषाभाषीको संरक्षणका लागि प्रतिष्ठानमार्फत् मन्त्रालयले चासो दिएको छ ।” मन्त्रालयमार्फत् गर्ने सहयोगका लागि आफू सधैं तयार रहेको बताउँदै सचिव सुवेदीले आवश्यकता परेको कुरा माग गरेको खण्डमा मन्त्रालयले सहयोग गर्ने वचन समेत दिनुभयो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं भाषा, साहित्य तथा दर्शन विभाग प्रमुख कृष्णप्रसाद पौडेलले प्रतिष्ठानले सक्दो सहयोग गर्न सदैव तयार रहेको जनाउँदै भाषा, कला, साहित्य र संस्कृतिको जगेर्नाका लागि सरोकारवाला समुदाय आफैं जागरुक बन्नुपर्नेमा जोड दिनुभयो । सिकेका कुरालाई व्यवहारमा उतार्न सके मात्रै सार्थक हुने भन्दै उहाँले सिकेका कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।


नेपाल मगर संघका केन्द्रीय सहकोषाध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषालाई लोप हुन नदिनका लागि संघले विगतदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै मगर भाषा लोपोन्मुख बन्दै जानु चिन्ताजनक कुरा भएको बताउनुभयो ।

समापन कार्यक्रममा नेपाल मगर संघ, गण्डकी प्रदेशकी उपाध्यक्ष तारामाया थापामगर, नेपाल मगर संघ, कास्कीका भाषा तथा शिक्षा विभाग प्रमुख शिव थापामगर, नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशका सभापति पदमबहादुर पुनमगर, प्रशिक्षक रूद्रबहादुर श्रीसमगर, मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर, नेपाल मगर भूसाल संघका उपाध्यक्ष यामबहादुर थापामगर, नेपाल मगर संघ, छिनेडाँडा इकाई समितिका उपाध्यक्ष कर्णबहादुर थापामगर, जैमिनी नगरपालिका वडा नं. १०, बागलुङका पूर्व वडाध्यक्ष नरबहादुर थापामगरलगायतले मगर भाषा कक्षालाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।
त्यस्तै, प्रशिक्षार्थीहरू राकेश थापामगर, सुनिता रानामगर, तारा पुनमगर, नरमाया पुनमगर, सरु थापामगर, बलवीर रानामगर, नगेन्द्रबहादुर थापामगर, नरमती थापामगर, लालबहादुर रानामगर, दीपा थापामगर, रनमाया थापामगरलगायतले एक महिने मगर भाषा कक्षा अत्यन्तै फलदायी भएको तर, समय छोटो भएको बताउनुभएको थियो ।


बागलुङ–पोखरा मगर समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष कृष्ण पुनमगर, उपाध्यक्ष चन्द्रबहादुर थापामगरले स्वागत मन्तव्य तथा नेपाल मगर संघ, छिनेडाँडा इकाई समितिका निवर्तमान अध्यक्ष ज्योतिराम थापामगरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । दुई स्थानमा भएको मगर मातृभाषा तथा लिपि लेखन प्रशिक्षणमा ७२ जना प्रशिक्षार्थी सहभागी थिए ।

 

Advertisment