नेपाल मगर संघ, दीप-बगर इकाईको नवनिर्मित भवनको उद्घाटन

पोखरा, १० मंसिर
नेपाल मगर संघ, दीप-बगर इकाई समितिद्वारा नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । इकाईको १९ औं वार्षिक साधारणसभाको अवसरमा पोखरा–१६, सगरमाथाटोलस्थित नवनिर्मित भवनको नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै अध्यक्ष पुनमगरले विश्वभरि छरिएर मगर जातिलाई संगठित र एकताबद्ध गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । मगर जातिको एकताले मात्र आफ्नो हक, हित र अधिकार प्राप्त गर्न सकिने भन्दै उहाँले राष्ट्र निर्माणमा ऐतिहासिक कालदेखि नै मगर जातिको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो । नेपाल मगर संघमा आबद्ध र संगठित हुन सम्पूर्ण मगर जातिलाई आह्वान गर्दै अध्यक्ष पुनमगरले मगर समुदायको बलियो एकताले मात्र समृद्ध मगर समाज निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै, नेपाल मगर महिला संघकी केन्द्रीय उपाध्यक्ष फूलकुमारी थापामगरले मगर जातिको भाषा, धर्म, संस्कृति र भेषभूषाको संरक्षणका लागि मगर महिलाहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै मगरको अस्तित्व रक्षाका लागि एकजुट हुनुपर्ने बताउनुभयो । नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले जनसंख्याको हिसाबले निकै ठूलो समुदाय भएपनि राज्यका विभिन्न निकायमा अझै सन्तोषजनक पहुँच र प्रतिनिधित्व हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ, कास्कीका कोषाध्यक्ष चन्द्रबहादुर पुर्जामगर, जिल्ला सचिवालय सदस्य देउकुमारी थापामगर, सगरमाथा टोल विकास संस्थाका उपाध्यक्ष कमल गुरुङ, नेपाल मगर युवा संघ, दीप बगर इकाईकी सचिव विमला थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगर, नेपाल मगर पत्रकार संघ, कास्की शाखाकी अध्यक्ष विनु मसराङ्गीमगर, बागलुङ–पोखरा मगर समाजका अध्यक्ष गजेन्द्र थापामगरलगायतको उपस्थिति रहेको थियो ।
नेपाल मगर संघ, दीप बगर इकाईका अध्यक्ष बालचन रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेकबहादुर थापामगर, सचिव ज्ञानीसरा रानामगर र सह–सचिव चित्रबहादुर रानामगरले पनि बोल्नुभएको थियो ।

 

Advertisment