मगर भाषाका कवि केबी नाम्जाली भुरुङ मगरको ५६ औं जन्मजयन्ती मनाइयो

पोखरा, २ पुस
मगर भाषाका कवि केबी नाम्जाली भुरुङ मगरको ५६ औं जन्मजयन्ती शनिबार पोखरामा मनाइएको छ ।
मगर भाषा प्रतिष्ठान, कास्कीको आयोजनामा भएको कार्यक्रममा बोल्दै पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले कवि केबी नाम्जालीले लेखेका कविता आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभयो । कवि नाम्जालीको अल्पायुमै भएको निधनले भाषा र साहित्य क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै कुलपति ढकालले नाम्जालीको कवित्व साँच्चिकै उत्कृष्ट रहेको उल्लेख गर्नुभयो ।
मगर भाषा प्रतिष्ठानसँग पोखरा प्रज्ञा–प्रतिष्ठान सहकार्य गर्न तयार रहेको भन्दै उहाँले सबै वाङ्मयिक संघसंस्थाहरूसँग मिलेर अघि बढ्ने बताउनुभयो । नेपाल विविध जातजाति र भाषाभाषीको साझा फूलबारी भएको भन्दै कुलपति ढकालले विविधतालाई जोगाइराख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । मगर भाषाको उत्थान र विकासका लागि प्रज्ञा–प्रतिष्ठानले सक्दो सहयोग गर्ने बताउँदै उहाँले मगर स्रष्टाहरूलाई चिनाउन मगर भाषा प्रतिष्ठानजस्ता संस्थाले अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।


नेपाल मगर संघका केन्द्रीय सहकोषाध्यक्ष पूर्णबहादुर रानामगरले मगर भाषा बचाउन मगर भाषा प्रतिष्ठानजस्ता संस्थाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । त्यस्तै, नेपाल मगर महिला संघकी केन्द्रीय उपाध्यक्ष फूलकुमारी थापामगरले मगर भाषा बचाउन नयाँ पुस्तामा जागरण आवश्यक रहेको धारणा राख्नुभयो । पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य भीमकुमारी पुनमगरले मगर भाषाको उत्थान र विकासका लागि महानगरको ध्यानाकर्षण गराउने बताउनुभयो । पोखरा महानगरपालिका वडा नं. २७ की वडा सदस्य बुद्धिमाया थापामगरले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर मगर भाषाको विकासका लागि आवश्यक स्थानीय कानून निर्माणका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।
मगर भाषा प्रतिष्ठान, कास्कीका निवर्तमान अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी अध्यक्ष सरिता सारूमगर, कवि केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोषका संरक्षक क्या. नरेश थापामगर, सचिव रूद्रबहादुर श्रीसमगर, कार्यसमिति सदस्य कुमार थापामगरले पनि बोल्नुभएको थियो । सो अवसरमा कवि केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोषदाता एवं कविपत्नी शशी थापामगर, पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य भीमकुमारी पुनमगर र पोखरा महानगरपालिका वडा नं. २७ की जनप्रतिनिधि बुद्धिमाया थापामगरलाई सम्मान गरिएको थियो ।


यसैबीच, शनिबार नै सम्पन्न मगर भाषा प्रतिष्ठान, कास्की शाखाको पाँचौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । साधारणसभाबाट अध्यक्ष यामबहादुर थापामगर, उपाध्यक्षमा रूद्रबहादुर श्रीसमगर, सचिवमा मीना थापामगर र कोषाध्यक्षमा ईश्वरी थापामगर निर्वाचित हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा कुमार थापामगर, इन्दिरा थापामगर र टोलमाया थापामगर निर्वाचित हुनुभएको छ । साधारणसभाको निर्वाचन प्रक्रिया सम्पन्न गर्नका लागि नेपाल मगर संघका केन्द्रीय सहकोषाध्यक्ष पूर्णबहादुर रानामगरको संयोजकत्वमा नेपाल सरकारका पूर्व उपसचिव गगनसिंह थापामगर र नेपाल मगर महिला संघकी केन्द्रीय उपाध्यक्ष फूलकुमारी थापामगर सदस्य रहेको निर्वाचनमण्डल बनाइएको थियो ।

 

 

Advertisment