काठमाडौंको टुँडिखेलमा तीन दिने “मगर माघे सकराती महोत्सव”

काठमाडौं, २८ पुस
नेपालको प्रमुख आदिवासी जनजाति मगर समुदायले पनि संघीय राजधानी काठमाडौंमा ३ दिने माघे सकराती राष्ट्रिय चाड मनाउने तयारी गरेको छ । नेपाल मगर संघले काठमाडौंको टुँडिखेलमा पुस २९, ३० र माघ १ गते माघे साकराती राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव मनाउने तयारी पूरा भएको नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार मौलिक संस्कृतिलाई थप प्रवद्र्धन गर्न माघे सकरातीलाई राष्ट्रिय सूचीमा चिनाउने गरी विश्वभर फैलाउन महोत्सवको रुपमा मनाउन लागिएको हो । महोत्सवमा यसपटक ‘मगरात सभ्यताको संरक्षण–सम्वद्र्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान चाड माघे साकराती–२०७९ भव्यताका साथ मनाऔं’ भन्ने नारा तय गरिएको छ । यसका साथै मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुषबाँण हान्ने तथा एकआपसमा शुभकामना आदान–प्रदान महोत्सवमा रहने नेपाल मगर संघ केन्द्रीय समितिले जनाएको छ । साथै माघ १ गते मौलिक झाँकीसहित १० बजे भृकुटीमण्डपबाट ¥याली सुरु हुनेछ ।
नेपालको प्रायः सबै जिल्लाहरुमा बसोबास रहेको प्राचीन आदिवासी ‘मगर’ समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता छन् । मौलिक संस्कृतिको रुपमा मगरहरुले माघे सकराती चाड, भूम्यापूजा, वैशाखे पूर्णिमा, साउने साकराती आदि चाडपर्व मनाउने गर्दछन् भने भाषिक रुपले मगरहरुले बाह्र मगरात क्षेत्रमा (मगर ढुट), अठार मगरात क्षेत्रमा (मगर खाम÷पाङ) र मगर काइके भाषा बोल्ने गर्दछन् । मौलिक कला–संस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैंस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगानहरु प्रचलित छन् ।
माघे सकरातीमा दाजुभाइ दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पातीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौंको पात लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई माइती दाजुभाइहरुले पूजा गर्ने गरिन्छ । चामलको सेतो टीका र जौं पातीको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने चलन छ ।
यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिंडालु, तरुल, रोटी सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरुकै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचडी, घिउको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पीङ खेल्ने आदि गरिन्छ । यसै दिनदेखि बेंसीबाट लेकतिर बसाइ सर्ने गरिन्छ । मगर समुदायमा यस चाड सांस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महत्व राख्ने गर्दछ ।

Advertisment