पोखरा महानगरपालिका वडा नं. २७ द्वारा आयोजित नेतृत्व विकास तालिमको समापन

पोखरा, १२ माघ
पोखरा महानगरपालिका वडा नं. २७ को आयोजना तथा किंग्स इन्टरनेशनल कलेज प्रालि, तिलोत्तमा नगरपालिका वडा नं. २, रुपन्देहीको समन्वयमा सञ्चालित दुई दिने नेतृत्व विकास तालिमको बुधबार समापन गरिएको छ ।
वडा कार्यालयको महिला विकास कार्यक्रम अन्तर्गत मंगलबारदेखि सुरु भएको तालिम वडाका तीन ठाउँमा सञ्चालन भएका थिए । वडा नं. २७ को अर्घौंचोक, तालचोक र रिठ्ठेपानीमा सञ्चालित तालिममा प्रशिक्षकहरू फेवा टेलिभिजनका कार्यक्रम प्रमुख रूद्रबहादुर श्रीस, नेपाल पत्रकार महासंघ, कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मा र रेडियो जननीकी स्टेशन म्यानेजर रत्ना गुरुङले सहजीकरण गर्नुभएको थियो ।


तालिमको समापन गर्दै वडाध्यक्ष पूर्णकुमार गुरुङले वडाका महिलाहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्दै वडाध्यक्ष गुरुङले अरुका सामु आफ्ना कुरा राख्न सक्ने गरी महिलाहरू सक्षम बन्नुपर्ने धारणा राख्नुभयो ।
वडा सदस्य बुद्धिमाया थापामगरले तालिमबाट सिकेका कुरालाई आत्मसात गर्न सके महिलाहरूले पनि नेतृत्व लिएर अघि बढ्न सक्ने बताउनुभयो । देशको उच्च ओहोदासम्म महिलाहरू पुगेको र नेतृत्व श्रृंखलाको विकासका लागि महिलाहरूले आफ्नो क्षमता विकास गर्नुपर्नेमा वडा सदस्य थापामगरले जोड दिनुभयो । त्यस्तै, वडा सदस्य लक्ष्मी विकले महिलाको क्षमता विकास गर्न आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने बताउनुभयो । अर्का वडा सदस्य सूर्यबहादुर वाग्लेले वडाले आयोजना गरेको तालिम फगत तालिमका लागि मात्र नभएको भन्दै तालिमलाई उपयोगी र उपलब्धीमूलक बनाउनुपर्नेमा जोड दिनुभयो ।


तालिम सञ्चालनका लागि स्थानीय आमा समूहहरूले समन्वय गरेका थिए भने तालिममा १२० जना महिला प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालिमको आवश्यकता र उद्देश्यका बारेमा किंग्स इन्टरनेशनल कलेज प्रालिका प्रबन्ध निर्देशक ठाकुर शर्माले प्रकाश पार्नुभएको थियो ।

Advertisment