स्टार्सको एकल गुरुङ गीत नृत्यमा रुपन्देहीकी एसिका गुरुङ प्रथम

पोखरा, ११ माघ
स्टार्स फाउण्डेशन नेपाल र स्टार्स स्टुडियो प्रालि, पोखराले आयोजना गरेको एकल गुरुङ गीत नृत्य प्रतियोगितामा रुपन्देहीकी एसिका गुरुङ प्रथम भएकी छिन् । तमु ल्होसार/ल्होछारको अवसरमा शनिबार आयोजित प्रतियोगितामा पाल्पाका सन्तोष मगर द्वितीय र कास्कीकी श्रव्या गुरुङ तृतीय भएका छन् । उनीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।


गुरुङ भाषाको गीत, संगीतको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको निर्णायकमा कास्कीका राजबहादुर गुरुङ, रुपन्देहीकी कृष्णकुमारी घले र काठमाडौंका मनाङ गुरुङ रहनुभएको थियो । सबै समुदायका कलाकारले भाग लिन पाउने गरी आयोजित सो प्रतियोगितामा ५३ जनाले अनलाइनमार्फत् सहभागिता जनाएका थिए । जसमा उत्कृष्ट १५ जनालाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइएको स्टार्सकी अध्यक्ष जसु गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा कास्की, स्याङ्जा, पाल्पा, रुपन्देही र लमजुङबाट प्रतियोगीहरू सहभागी भएका थिए ।


कार्यक्रममा नेपाली भाषा, संस्कृति, गीत, संगीत तथा साहित्यतर्फ उल्लेखनीय योगदान पु¥याएको भन्दै वरिष्ठ गीतकार एकेन्द्र गुरुङलाई स्व. तिलमाया गुरुङ स्मृति पुरस्कार सम्मानबाट नगद १० हजार ५० रुपैयाँ, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । स्टार्स फाउण्डेशन तथा स्टार्स स्टुडियोकी अध्यक्ष जसु गुरुङकी ममतामयी आमाको पुण्य स्मृतिमा स्थापित सो सम्मानबाट सम्मान गरिएको हो । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ “श्याम”ले सो सम्मान गर्नुभएको हो । त्यसैगरी, स्टार्स समाजसेवा पुरस्कार–२०७९ बाट सामाजिक सञ्जालमार्फत् समाजसेवामा क्रियाशील भइ छोटो समयमा नै चर्चा र माया पाउन सफल युवा समाजसेवी गिविना मगरलाई नगद १० हजार ५० रुपैयाँ, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।


कार्यक्रममा तमु धिं युकेका अध्यक्ष हरि गुरुङसहित पदाधिकारीहरूलाई परम्परागत मौलिक गुरुङ पोशाकद्वारा सम्मान एवं स्वागत गरिएको थियो । सो अवसरमा पुरस्कार गोर्खा मिडियाका प्रबन्ध निर्देशक (मिलन तमु), दोस्रो ओमेन्द्र गुरुङ, बेलायत (प्रतिनिधि ः श्री गुरुङ), तेस्रो सेभेन सिस्टर (प्रतिनिधि ः कमला गुरुङ)ले वितरण गर्नुभएको थियो । त्यसैगरी, उत्कृष्ट भेषभूषातर्फ मोनिका मगर (हेम्जा), उत्कृष्ट अनुशासनतर्फ सुमित्रा लामा ह्योल्मो (लमजुङ), उत्कृष्ट कोरियोग्राफीतर्फ मनकाशी गुरुङ (लमजुङ), उत्कृष्ट इनर्जीतर्फ आयुष्मा नेपाली (यसओयस बहिनी), उत्कृष्ट ट्यालेन्टतर्फ रितिका गुरुङ (पोखरा), उत्कृष्ट इन्टरटेनरतर्फ अर्चना गुरुङ (पोखरा), उत्कृष्ट एक्स्प्रेसनतर्फ रितिशा गुरुङ (स्याङ्जा), उत्कृष्ट स्टेपतर्फ सुयान्सा गुरुङ (पोखरा), उत्कृष्ट पर्फमरतर्फ स्नेहा गुरुङ (हेम्जा), उत्कृष्ट जेनिशा गुरुङ (हिमाली बाल संरक्षण मञ्च), उत्कृष्ट टेक्निकतर्फ जस्मिन गुरुङ (पोखरा), उत्कृष्ट क्रियटिभतर्फ बाबु गुरुङ (स्याङ्जा)ले हात पार्न सफल भएका थिए । सभाध्यक्ष जसु गुरुङ, प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ “श्याम”, पोखरा प्रज्ञा–प्रतिष्ठान कुलपति पद्मराज ढकाल, तमु धिं युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, वर्तमान अध्यक्ष हरि गुरुङले प्रदान गर्नुभएको थियो ।


संस्थाद्वारा सम्मानितद्वयको छोटो बायोग्राफी भिडियो प्रोजेक्टर मार्फत देखाइएको थियो । अतिथि कलाकारतर्फ गायनमा उषा गुरुङ र राजबहादुर गुरुङले उपस्थित सबैलाई झुमाएका थिए भने एक मात्रै खुट्टा भएको फरक क्षमताकि धनि अन्जना गुरुङको नृत्य, स्टार्स सिंगल डान्स प्रतियोगिता–२०७७ कि उपबिजेता ओशिका गुरुङ र बिजेता जमुना गुरुङको नृत्य प्रस्तुति रहेको थियो।


पोखराका विभिन्न विद्यालय, व्यवसाय, पत्रकार तथा संघसंस्थाहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कार्यक्रमको उद्देश्य, स्वागत एवं धन्यवाद सभाध्यक्ष जसु गुरुङ, शुभकामना मन्तव्य गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची” तथा तमु धिं युकेका अध्यक्ष हरि गुरुङको रहेको थियो भने कार्यक्रम सञ्चालनको भूमिका रेडियो नेपालकी वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङको रहेको थियो ।

Advertisment