प्रथम शहीदको सम्झनामा पोखराको लखनचोकमा दीप प्रज्ज्वलन

पोखरा, २ फागुन
नेपालका प्रथम शहीद लखन थापामगरको १४६ औं स्मृति दिवसका अवसरमा मंगलबार साँझ पोखराको लखनचोकमा दीप प्रज्ज्वलन गरिएको छ ।
नेपाल मगर विद्यार्थी संघ, कास्की र पृथ्वीनारायण क्याम्पस समितिको संयुक्त आयोजनामा लखनचोकस्थित प्रथम शहीद लखन थापामगरको शालिक परिसरमा दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय उपमहासचिव खेम पुनमगरले प्रथम शहीद लखन थापामगरलाई देशले सही सम्मान दिन नसकेको बताउनुभयो ।
नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले प्रथम शहीद घोषणा गरेर मात्रै राज्यले बस्न नमिल्ने भन्दै प्रथम शहीदलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम बुढामगर, कास्की जिल्ला अध्यक्ष महेश घर्तीमगर, पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष कृष्ण बुढामगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष दीपेन्द्र घर्तीमगरले प्रथम शहीदलगायतका शहीदहरूको बलिदानीलाई खेर जान नदिने प्रतिबद्धता जनाउनुभएको थियो ।

 

Advertisment