आदिवासी जनजातिले प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्नुपर्छ ः कानून मन्त्री गाहा

पोखरा, ६ फागुन
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले जनसंख्याले मात्रै प्रशासनिक र राजनीतिक पहुँच स्थापित गर्न नसक्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको दोस्रो ठूलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ पृथ्वीनारायण क्याम्पस समन्वय समितिले आयोजना गरेको ‘बृहत खुल्ला सांस्कृतिक तथा मौलिक नृत्य प्रतियोगिता एवं प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम’लाई सम्बोधन गर्दै कानून मन्त्री गाहामगरले यस्तो धारणा राख्नुभएको हो ।


उहाँले आदिवासी जनजाति समुदायको जनसंख्या धेरै भएपनि पहुँचको हिसाबले कमजोर रहेको बताउनुभयो । ‘आदिवासी जनजाति समुदाय संख्याको हिसाबमा धेरै छौं । संख्याको हिसाबमा धेरै भएपनि विचार, संघर्ष र पहुँचमा पछाडी छौं, मन्त्री गाहामगरले भन्नुभयो, ‘त्यसैले अब आदिवासी जनजातिको मौलिक हकका निम्ति एकढिक्का र गम्भीर हुन जरुरी छ ।’
उहाँले एकताले मात्रै पहुँच स्थापना हुन नसक्ने बताउदै शैक्षिक सशक्तिकरणको आवश्यकता रहेको उल्लेख गर्नुभयो । मन्त्री गाहामगरले जनजाति साँस्कृतिक हिसाबले धनी रहेको बताउदै संरक्षणको जरुरी रहेको बताउनुभयो । “हामी कल्चर र नेचरले धनि छौं, यसको संरक्षण हुन नितान्त जरुरी छ । तपाईहरु विद्यार्थी जीवनबाट नै पढ्दै सिक्दै संस्कृति संरक्षणको विषयमा गम्भीर हुन आवश्यक छ । । किनभने हाम्रो मौलिक तथा ऐतिहासिक संस्कृति र परम्परा बचाउनुपर्ने अवस्था आएको छ ।’ उहाँले भन्नुभयो ।
मन्त्री गाहामगरले विद्यार्थी नेताहरुलाई फरक–फरक पार्टीमा आवद्ध भएपनि समुदायको अधिकार प्राप्तिका लागि एकढिक्का भएर लाग्नसमेत सुझाब दिनुभएको थियो ।


नृत्य प्रतियोगितामा डिडी डान्स स्टुडियो प्रथम
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ पृथ्वीनारायण क्याम्पस समन्वय समितिको आयोजना र नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिको सहआयोजनामा सम्पन्न बृहत खुल्ला सांस्कृतिक तथा नृत्य प्रतियोगितामा सामुहिक नृत्यतर्फ डिडी डान्स स्टुडियो प्रथम भएको छ ।
यस्तै न्यू ग्यालेक्सी बोर्डिङ स्कुल द्वितीय, फुलमुन डान्स स्टुडियो तृतीय र दीप मगर समाज र ज्ञानु बाबा बोर्डिङ स्कुलले सान्त्वना स्थान हाँसिल गरे ।
सामुहिक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका समूहलाई क्रमशः १२ हजार, ८ हजार, ५ हजार रसान्त्वना भएका दुई समूहलाई समान २/२ हजार नगद राशी प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष अर्जुन बरामले जानकारी दिनुभयो । उहाँका अनुसार एकल नृत्यतर्फ यसोधा रोका प्रथम, सरु खत्री द्वितीय र डानियाल मगर तृतीय भए । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरेका थिए ।

 

 

Advertisment