गण्डकी प्रज्ञा–प्रतिष्ठानमा मातृभाषामा कविता वाचन

पोखरा, १० फागुन
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मंगलबार मातृभाषामा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानमा आयोजित सो कार्यक्रममा संस्कृत, नेपाली, मगर, गुरुङ, नेवारी, थकाली र भोटे गरी सात वटा भाषामा स्रष्टाहरूले कविता वाचन गरेका थिए । सो अवसरमा भीम रानाभाट, कृष्णप्रसाद पौडेल, रूद्रबहादुर हितान, रूद्रबहादुर श्रीस, यामबहादुर थापा, फूलकुमारी थापा, छविलाल आचार्य, छवि सुवेदी, उदयबहादुर अमात्यले कविता वाचन गर्नुभएको थियो । त्यसैगरी, मधुसूदन जोशी, जसमाया गुरुङ, विष्णु बाँस्तोला, ज्योति भट्टचन, कल्याण पन्त, असफल गौतम, मदन भण्डारीले पनि विभिन्न भाषामा कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा भाषाविद् प्रा.डा. यमनाथ तिमिल्सिनाले गण्डकी प्रदेशमा मातृभाषाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. तिमिल्सिनाले मातृभाषा दिनानुदिन लोपोन्मुख बन्दै गएको भन्दै मातृभाषा संरक्षणका लागि प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले संस्कृत भाषाको महत्व अरु बढ्दै गएको भन्दै संस्कृत भाषासहित अन्य मातृभाषाको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”ले पहिलोपटक प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा कार्यक्रम आयोजना गरेको भन्दै आगामी वर्षदेखि बृहत रुपमा दिवस मनाउने उद्घोष गर्नुभयो । लोपोन्मुख मातृभाषाको संरक्षणका निम्ति सबै सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताउँदै उहाँले मातृभाषा प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं भाषा, साहित्य तथा दर्शन विभाग प्रमुख कृष्णप्रसाद पौडेल र प्राज्ञ परिषद् सदस्य डिलकुमारी पौडेलले मातृभाषा दिवसको महत्वबारे बोल्नुभएको थियो ।

Advertisment