मालिङका महिलालाई चार दिने उद्घोषण तालिम

मालिङ, २३ फागुन
लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं. २, मालिङमा चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा दुई दर्जन महिला प्रशिक्षार्थी सहभागी थिए । शनिबारदेखि सुरु भएको सो तालिमको मंगलबार समापन गरिएको हो ।
तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले महिलाहरूको नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । महिलाहरू सक्षम भए मात्र समाजको विकास हुने भन्दै उहाँले घरको चुलोचौकोमा मात्र सीमित नभइ महिलाहरू क्षमता विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, वडाध्यक्ष खुशीमान गुरुङले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । कार्यपालिका सदस्य हेमन्ता गुरुङले समय व्यतीत गर्न मात्रै तालिममा सहभागी हुनुको अर्थ नहुने भन्दै प्रशिक्षकको मेहेनत र प्रशिक्षार्थीको अभ्यासले तालिम सफल बनेको विश्वास व्यक्त गर्नुभयो ।
दलित महिला वडा सदस्य एलिसा परियारको अध्यक्षतामा भएको समापन कार्यक्रममा तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै, प्रशिक्षार्थीको तर्फबाट कुसुम परियार, सीता विक, रसमाया परियार, शर्मिला घलेले तालिमको अनुभवबारे आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

Advertisment