बागलुङपानीमा महिलाका लागि क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम

मालिङ, २७ फागुन
लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं. १, बागलुङपानीमा चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा दुई दर्जन महिला प्रशिक्षार्थी सहभागी थिए । बुधबारदेखि सुरु भएको सो तालिमको शनिबार समापन गरिएको हो ।
तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले महिलाहरूको नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । महिलाहरू सक्षम भए मात्र समाजको विकास हुने भन्दै उहाँले घरको चुलोचौकोमा मात्र सीमित नभइ महिलाहरू क्षमता विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, वडाध्यक्ष पेमा गुरुङले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै, प्रशिक्षार्थीको तर्फबाट वडा दलित महिला सदस्य विष्णुदेवी विक, वडा महिला सदस्य भीमकुमारी गुरुङ, विष्णु लामा, रीता गुरुङले तालिमको अनुभवबारे आ–आफ्ना भनाइ राख्नुभएको थियो । महिला सञ्जाल, बागलुङपानीकी अध्यक्ष विष्णुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमिता गुरुङले गर्नुभएको थियो ।

 

Advertisment