मपिङमा चार दिने उद्घोषण तालिमको समापन

मालिङ, १ चैत्र
लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं. ८, मपिङमा सञ्चालित चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा दुई दर्जन महिला प्रशिक्षार्थी सहभागी थिए । आइतबारदेखि सुरु भएको सो तालिमको बुधबार समापन गरिएको हो ।
तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले महिलाहरूको नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । महिलाहरू सक्षम भए मात्र समाजको विकास हुने भन्दै उहाँले घरको चुलोचौकोमा मात्र सीमित नभइ महिलाहरू क्षमता विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, वडाध्यक्ष सन्तोष घलेले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै, प्रशिक्षार्थीको तर्फबाट पिंकी गुरुङ, पार्वती विक, रीना गुरुङ र सम्झना गुरुङले तालिमको अनुभवबारे आ–आफ्ना भनाइ राख्नुभएको थियो । समापन कार्यक्रममा कार्यपालिका सदस्य केशकुमारी गुरुङले पनि बोल्नुभएको थियो ।

Advertisment