मुस्ताङमा आगामी वैशाखबाट बियरको बोतल निषेध हुन्छ ः अध्यक्ष लालचन

पोखरा, २१ चैत ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले वैशाखदेखि पालिकामा वियरको बोतल निषेध गरिने बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले हिमाल पारीको जिल्ला मुस्ताङमा मंगलबार आयोजना गरेको “घरपझोङ गाउँपालिकाको समृद्धिमा सञ्चारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष लालचनले उक्त कुरा बताउनुभएको छ । सिसाको बोतल नकुहिने र गाड्दा समेत कयौं वर्ष रहने भएकाले वातावरणीय आधारमा समेत आफूहरुले सिसाको सिसा बोतललाई निषेध गर्ने उहाँले जानकारी दिनुभएको हो । ‘वातावरणीय हिसाबमा फोहोर हुने भएको र नकुहिने भएको २०८० सालको वैशाखबाट हामीले यो निर्णय लागू गर्ने भएका हौं,’ गाउँपालिका अध्यक्ष लालचनले भन्नुभयो ।
एक फरक प्रसंगमा उहाँले सरकार परिवर्तन धेरै भएकाले आफूहरुलाई थप चुनौती थपिएको र समन्वयमा समस्या उत्पन्न भएको बताउनुभयो । ‘एउटा सरकारको मन्त्रीलाई आफ्नो समस्या राख्यो, समाधान नहुँदै अर्को मन्त्री आइसक्छन्, त्यस्तो हुँदा हाम्रो समस्या समाधान हुन सकिरहेको छैन,’ उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि समन्वय गर्न समस्या हुँदा यहाँका समस्या ज्युँका त्युँ छ ।’
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा जिल्लाको न्यायिक समितिका संयोजक जमुना थापामगरले जिल्लामा अझै पनि मुखिया प्रथा कायमै रहेकाले आफूसम्म धेरै जस्तो समस्या नै नआउने बताउनुभयो । मुस्ताङको मात्रै नभएर नेपालका प्राय महिलाहरु अहिले पनि पछाडि नै रहेको उपाध्यक्ष थापामगरको भनाई थियो । मुखियाले नै आम नागरिकको समस्या समाधान गर्ने भएकाले स्थानीय सरकारको महत्वका विषयमा आफूले नै बुझाउन नसकेको हो कि भन्ने भान हुन थालेको उहाँको भनाई थियो । जिल्लाका महिलालाई व्यवसायिक र आर्थिक रुपमा सवल बनाउन गाउँपालिकाले तालिम सञ्चालन गरेको भएपनि सहभागिता निकै कम हुने गरेको उपाध्यक्ष थापामगरको गुनासो छ । ‘यहाँका महिलालाई समसामयिक विषयमा आयोजना हुने कार्यक्रम तथा तालिममा सहभागिता जनाउने विषयमा बुझाउन यझै कठिन छ,’ उहाँले भन्नुभयो ।
फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली, फोनिज गण्डकी प्रदेशका इञ्चार्ज एमबी आस्था मगरलगायतले फोनिज गण्डकी र स्थानीय तहबीच सहकार्य गर्दै अघि बढ्नु आवश्यक रहेको बताएका थिए ।

Advertisment