विश्व कीर्तिमानी आरोही हरि बुढामगरलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, ९ जेठ
घुँडासम्म दुवै खुट्टा गुमाउनुभएका विश्व कीर्तिमानी आरोही हरि बुढामगरलाई सरकारले भव्य स्वागत गरेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहणपछि मङ्गलवार काठमाण्डौ आउनुभएका बुढामगरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा नै पुगेर भव्य स्वागत गर्नुभएको हो । साथै, उहाँलाई नेपाल मगर संघको अगुवाइमा मगर समुदायले झाँकीसहित स्वागत गरेको थियो । भूतपूर्व गोर्खा सैनिकसमेत रहेका बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको थियो । योसँगै उहाँ घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोहीसमेत बन्नुभएको छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आरोहण गर्नुभएको हो ।
विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले बुढामगरलाई सम्बोधन गर्ने कुनै शब्द नै नरहेको बताउनुभयो । उहाँले बुढामगरले विश्वलाई नै नयाँ सन्देश दिनुभएको बताउनुभयो । यस्तै आरोही बुढामगरले सबैको साथ र सहयोगमा मात्रै सगरमाथ आरोहण गर्न सकेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले शारीरिक अशक्त भएकाहरूलाई दया, माया नभई अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।
यसैबीच, रोल्पाको थबाङ गाउँपालिका वडा नं. ३, मिरुलनिवासी कीर्तिमानी आरोही बुढामगरलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत भेटेर बधाई दिनुभएको छ । त्यसैगरी, बुढामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले समेत बधाई दिनुभएको छ ।

Advertisment