मिस मगर इन्टरनेशनलको ‘ट्यालेण्ट शो’मा १२ प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं, १५ जेठ
मिस मगर इन्टरनेशनलको पहिलो सिजनको ट्यालेन्ट राउण्डमा १२ फाइनल प्रतियोगीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् ।
सोमबार काठमाडौंको होटल सम्पदामा आयोजित प्रतिभा प्रस्फुटन कार्यक्रममा उनीहरूले नृत्य, अभिनय, गीत गायक, कविता तथा गजल वाचन लगायतका प्रतिभा प्रस्तुत गरेका हुन् ।
मिस मगर इन्टरनेशनल सिजन १ को प्रतिभा प्रस्फुटन कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघकी उपमहासचिव चन्द्रज्योति आलेमगरले मिस मगर फरक खालको सौन्दर्य प्रतियोगिता भएको आफूले बुझेको भन्दै प्रतिभा र क्षमता देखाउने एउटा राम्रो अवसर भएको बताउनुभयो । युवा पुस्तालाई मगर भाषा, कला, संस्कृतिबारे जानकारी गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले प्रतियोगिताले मगर समुदायका युवतीहरूको व्यक्तित्व र नेतृत्व विकासमा सघाउ पु¥याउने बताउनुभयो । साथै, प्रतियोगितालाई विश्वभरिका मगर समुदायका बीचमा लैजान जरुरी रहेकोमा दिँदै उपमहासचिव आलेमगरले यस्ता किसिमका प्रतियोगिताले निरन्तरता पाउनुपर्ने भनाइ राख्नुभयो ।


नेपाल मगर महिला संघकी अध्यक्ष हिरुसरा रानामगरले मगर समुदायका युवतीका लागि प्रतिभा प्रस्फुटन गर्ने र क्षमता प्रदर्शन गर्ने एउटा राम्रो अवसरका रुपमा आफूले मिस मगर इन्टरनेशनललाई लिएको बताउनुभयो । आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै अध्यक्ष रानामगरले मगर युवतीहरूलाई व्यापक सहभागिता गराउनुपर्नेमा समेत जोड दिनुभयो ।


मिस मंगोल २०१२ सपना रोकामगरले सो कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । मिस मगर इन्टरनेशनलको आयोजक संस्था सुनोगाभा नेपालका महासचिव नायक एवं गायक रमेशबाबु थापामगरले मिस मगर इन्टरनेशनलले मगर समुदायका युवतीहरूको व्यक्तित्व विकासमा सहयोग पुग्ने भनाइ राख्नुभयो ।


सो कार्यक्रममा प्रमुख निर्णायकका रुपमा गायक अर्जुन थापामगर, चलचित्र निर्देशक सन्तोष पिठाकोटेमगर, मिस मंगोल २०१९ की फष्ट रनर अप रेनुका पुनमगर निर्णायक रहनुभएको थियो । मिस मगर इन्टरनेशनलको ग्राण्ड फिनाले यही जेठ २७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने जनाइएको छ ।

Advertisment