बागलुङको गलकोटमा सञ्चालित एक महिने मगर भाषा प्रशिक्षणको समापन

गलकोट, १५ जेठ
बागलुङको गलकोट नगरपालिका वडा नं. ११, रिघामा एक महिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल मगर संघ, गलकोट नगरपालिका वडा नं. ११, रिघा, छिचिम्रा टोल समितिको सहकार्यमा भएको एक महिने मगर भाषा प्रशिक्षणको गत आइतबार समापन गरिएको हो ।


सो प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं भाषा, साहित्य तथा दर्शन विभाग प्रमुख प्राज्ञ कृष्णप्रसाद पौडेलले इच्छा शक्ति भए जुनसुकै भाषा सिकेर बोल्न सकिने बताउनुभयो । मगर भाषालगायतका लोपोन्मुख भाषाको संरक्षणका लागि प्रज्ञा–प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै उहाँले सीमित बजेटका बावजुद विभिन्न जिल्लामा मातृभाषाको संरक्षणमा सम्बन्धित समुदायले पनि उत्तिकै चासो दिनुपर्ने भनाइ राख्नुभयो । प्राज्ञ पौडेलले मगर भाषाको उत्थानका लागि युवा पुस्ताकेन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।


गलकोट नगरपालिका वडा नं. ११ का वडाध्यक्ष डम्मरबहादुर श्रीसले गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आफ्नो वडामा मगर भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको भन्दै प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । मगर जातिको बाहुल्यता रहेको वडामा मगर भाषा भने लोप भइसकेको भन्दै लोप भएको मातृभाषाको उत्थानका लागि वडाले समेत विशेष चासोका साथ हेरेको उल्लेख गर्नुभयो ।
त्यसैगरी, रत्नलक्ष्मी माध्यमिक विद्यालय, रिघाका प्रधानाध्यापक तुलबहादुर श्रीसले मगर समुदायको बाहुल्यता रहेको ठाउँ भएपनि मगर भाषा लोप हुनु दुःखद् भएको बताउनुभयो । प्रधानाध्यापक श्रीसले मगर भाषा लोप भएका ठाउँमा यस्तै मगर भाषा प्रशिक्षण कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । मगर भाषा प्रशिक्षक राजु लामिछानेमगरले आफूले मगर भाषा प्रशिक्षणका लागि सहजीकरण गर्ने अवसर पाएकोमा गण्डकी प्रज्ञा–प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो ।


नेपाल मगर संघ, गलकोट नगरपालिका वडा नं. ११, रिघा, छिचिम्रा टोल समितिका अध्यक्ष अमरबहादुर घर्तीमगरको अध्यक्षतामा भएको मगर भाषा प्रशिक्षणको समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले कौरालगायतका विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए । प्रशिक्षण कार्यक्रममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

Advertisment