गलकोटको रिघामा नेतृत्व क्षमता विकास तालिम सम्पन्न

गलकोट, ६ असार
बागलुङको गलकोट नगरपालिका वडा नं. ११, रिघामा नेतृत्व, संस्थागत क्षमता विकास तथा कानूनी परामर्श तालिमसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । टोल विकास संस्था परिचालन र नागरिक सचेतना कार्यक्रम अन्तर्गत वडा कार्यालयको सहयोगमा वडास्तरीय टोल समन्वय समितिको आयोजनामा सोमबारदेखि सुरु भएको तालिमको बुधबार समापन गरिएको हो । तालिमको समापन गर्दै गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले स्थानीय विकासमा टोल विकास संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

त्यस्तै, वडाध्यक्ष डम्बरबहादुर श्रीसले टोल विकास संस्थालाई थप प्रभावकारी बनाउन तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्दै अघि बढ्न आग्रह गर्दै वडाध्यक्ष श्रीसले सामाजिक अगुवाहरुको क्षमता विकासका लागि तालिम महत्वपूर्ण भएको धारणा राख्नुभयो । वडा सचिव रामबहादुर रोकाले वडाबाट हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन वडा कार्यालयले विशेष ध्यान दिएको बताउँदै पञ्जीकरणसम्बन्धी कानूनको बारेमा जानकारी गराउनुभएको थियो । तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले आत्मविश्वास लिएर अघि बढे मात्र जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट रिघा स्वास्थ्य चौकीका सिअहेव डिलबहादुर श्रीस, रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवेन्द्र पुन, मिलीजुली आमा समूह, सानो रिघाकी सचिव तनु पुन, स्वयंसेविका चन्द्रा सिंजाली, रिघा दलित सञ्जालका अध्यक्ष दुर्गाबहादुर विक, सुनौलो नेपाल वडा बाल सञ्जालका सचिव सुवास विकलगायतले आआफ्नो तालिमको अनुभवबारे बोल्नुभएको थियो । वडास्तरीय टोल समन्वय समितिका संयोजक तिलक श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा वडा भित्रका १४ वटा टोल विकास संस्थाबाट तीन तीन जना प्रतिनिधि, दलित सञ्जाल र बाल सञ्जालका प्रतिनिधि गरी ६० जनाको उपस्थिति रहेको थियो ।

Advertisment