मगर संघ हङकङको अध्यक्षमा याम बुढाथोकी निर्वाचित

हङकङ, ३० अक्टोबर
मगर संघ हङकङको विशेष एकता महाधिवेशनबाट अध्यक्षमा याम बुढाथोकीमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेम थापामगर, उपाध्यक्षमा निलम थापामगर, महासचिवमा झलक थापामगर, सचिवमा मेख आलेमगर, कोषाध्यक्षमा मतिश्री पुनमगर, सह–कोषाध्यक्षमा विष्णु काउचामगर सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा शिला रानामगर, शक्तमान बुढाथोकीमगर, जगतप्रसाद थापामगर, मीना पुनमगर, काशी पुनमगर, निर आलेमगर, सागर थापामगर, सुनिल थापामगर, होम आलेमगर, नवीन थापामगर, डिम्पल थापामगर, दिलकुमारी श्रीसमगर, सोम थापामगर र धनीराम पुनमगर रहनुभएको छ ।
मगर संघ हङकङको पछिल्लो १० औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारको योग्यतालाई लिएर विवाद बढेपछि पूर्वउपाध्यक्ष हर्क राना र पूर्व सल्लाहकार हेमराज थापाको नेतृत्वमा संघ दुई समूहमा विभाजित भएको थियो। मगर संघ हङकङको विधानमा अध्यक्षको उम्मेदवार बन्न कार्यसमिति पदाधिकारी भई एक कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था भएकोमा हेमराज थापा सल्लाहकार मात्रै रहेकोले उम्मेदवार बन्न अयोग्य भनी उजुरी परेको थियो । उजुरीउपर कारवाही हुँदा निर्वाचन समितिले विधानतः उम्मेदवारी हुन योग्यता नपुगेको निर्णय सुनाएपछि विवाद बढेको थियो।
विवादका बीच थापा समूहले छुट्टै निर्वाचन गरी अध्यक्ष भएको घोषणा गरेको थियो भने अर्कोतर्फ हर्कप्रसाद रानामगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो। केही समय एउटै संस्थाको दुई÷दुई वटा अध्यक्ष तथा कार्यसमिति रहेको मगर संघ हङकङमा मिलेर जानुपर्ने आवाज उठेपछि गतवर्ष नेपाल मगर महिला संघकी विदेश सचिव नीता थापामगरको संयोजकत्वमा एकता संयोजन समिति बनेको थियो।
समितिको करिब एक वर्षसम्मको कसरतले गत जुलाईमा दुवै समूहका अध्यक्षले राजीनामा दिने तथा दुवै कार्यसमिति निस्क्रिय बनाई एकता अधिवेशन गर्ने सहमति जुटाएको थियो । पुन मगर समाज हङकङका पूर्वअध्यक्ष राजु पुनमगरको संयोजकत्वमा एकता विशेष अधिवेशन गर्ने सहमति त्यतिबेला जुटेको थियो । त्यही कसरतको परिणामस्वरुप मगर संघ हङकङका संस्थापक अध्यक्ष भोला थापामगरको प्रमुख आतिथ्यमा मगर संघ हङकङको विशेष एकता महाधिवेशन सम्पन्न भएको हो ।

Advertisment