तनहुँकी विनु रानालाई मिस मगरको उपाधि

पोखरा, २४ कात्तिक
छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ को उपाधि तनहुँकी २० वर्षीया विनु रानामगरले जितेकी छिन् । निर्णायकले सोधेको प्रश्नको जवाफसहित अन्तिम १० प्रतिस्पर्धीलाई पछि पार्दैै विनु यस वर्षको मिस मगर नेपाल बन्न सफल भएकी हुन् । उनले उपाधिको ताजसहित नगद पुरस्कार ७० हजार रुपैयाँ, अवार्ड प्राप्त गर्न सफल भइन् । उनले मोष्ट डेडिकेटेडको टाइटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन् ।
त्यसैगरी, म्याग्दीकी दिवा पाइजामगर फष्ट रनर अप भइन् । उनले फष्ट रनर अपको ताजसँगै मोष्ट पपुलर तथा मोष्ट ट्यालेन्टेडको टाइटल अवार्ड पनि जितिन् । उनले नगद पुरस्कार ३० हजार रुपैयाँ र अवार्ड प्राप्त गरिन् । म्याग्दीकै कविता थापामगर सेकेण्ड रनर अप घोषित भइन् । उनले सेकेण्ड रनर अपको ताजसहित बेष्ट वाकको टाइटल अवार्ड हात पारिन् । उनले नगद पुरस्कार २० हजार रुपैयाँ र अवार्ड प्राप्त गरिन् । उदयपुरकी दीक्षा थापामगर थर्ड रनर अप भइन् । उनले थर्ड रनर अपको ताजसँगै मोष्ट इन्टेलिजेन्ट तथा बेष्ट पर्सनालिटीको टाइटल अवार्ड आफ्नो पोल्टामा पारिन् । उनले नगद पुरस्कार १० हजार रुपैयाँ र अवार्ड प्राप्त गरेकी छिन् । त्यस्तै, म्याग्दीकी उमा पुनमगरले भ्यूअर्स च्वाइस अवार्ड जित्न सफल भइन् । उनले मोष्ट चार्मिङको टाइटल अवार्ड पनि जितिन् ।
मिस मगर नेपाल २०२३ मा सहभागी प्रतियोगीहरूले अन्य विभिन्न टाइटल अवार्ड समेत जित्न सफल भए । जसमा कर्णाली प्रदेशको सुर्खेतकी बबिता बाकाबलमगरले मोष्ट डिसिप्लिन तथा बेष्ट ट्रेनीको टाइटल अवार्ड जित्न सफल भइन् । त्यसैगरी, बागलुङकी एलिना थापामगरले बेष्ट हेयर, म्याग्दीकी चिना पुनमगरले मोष्ट फ्रेन्डली, स्याङ्जाकी सलिना रानामगरले मोष्ट फोटोजेनिक र बागलुङकी खगी थापामगरले मोष्ट कन्फिडेन्टको टाइटल अवार्ड जित्न सफल भए ।
होटल पोखरा ग्राण्डमा सम्पन्न ग्राण्ड फिनालेमा बिजेता प्रतियोगीहरूलाई ताज प्रदान गरिएको थियो । मिस मगर नेपाल–२०२२ की बिजेता मिलन थापामगरले २०२३ की मिस मगर नेपाल बिजेता विनु रानामगरलाई ताज पहिराइदिएकी थिइन् । त्यस्तै, मिस मगर नेपाल २०२२ की फष्ट रनर अप भावना खपाङ्गीमगर, थर्ड रनर अप प्रियंका गर्बुजामगर, मिस मगर नेपाल २०१९ बिजेता सनम गर्बुजामगर र कोरियोग्राफर सुस्मिता पुनमगरले अन्य बिजेतालाई ताज लगाइदिनुभएको थियो । ग्राण्ड फिनालेको प्रमुख निर्णायकमा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एवं नेपाल मगर संघका पूर्व महासचिव, वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, निर्णायकहरूमा प्राध्यापक निर्मल थापामगर, आदिवासी जनजाति चलचित्र महासंघ, गण्डकी प्रदेशका महासचिव एवं नृत्य निर्देशक गोविन्द पुनमगर, गायिका एवं मोडल शान्ति श्रीसमगर र नायिका, मोडल तथा कोरियोग्राफर जेनिता थापामगर रहनुभएको थियो । निर्णायक मण्डलको संयोजन मिस मगर नेपालका निर्देशक शिव थापामगरले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापामगरले पछिल्लो समय वैदेशिक मोहले गर्दा युवायुवती पलायन हुने क्रम बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । मगर समुदायको भाषा, संस्कृति लोप हुँदै जान थालेको भन्दै उपसभामुख थापाले भाषा, संस्कृति संरक्षणसँग युवा वर्गलाई जोड्नुपर्ने बताउनुभयो । त्यस्तै, गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले युवा महिलाको क्षमतामा निखारता ल्याउन मिस मगरजस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रमुख निर्णायक वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले प्रतियोगिता जित्न शारीरिक रुपमा सुन्दर भएर मात्र नहुने भन्दै सुन्दरतासँगै बौद्धिकता पनि उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालासिंह काउछामगर, उपमहासचिव खेम पुनमगरले मगर जातिको आफ्नै मौलिक भाषा, संस्कृति र भेषभूषा रहेको बताउँदै भाषा, संस्कृतिको संरक्षण र मगर समुदायका प्रतिभाहरूको प्रस्फुटन गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भनाइ व्यक्त गर्नुभयो ।
मिस मगर नेपालका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसमगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कार्यक्रम निर्देशक सुरज थापामगर र सञ्चारकर्मी जुना थापामगरले गर्नुभएको थियो ।
“मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ एसटी क्रियशनद्वारा आयोजित छैठौं संस्करणको मिस मगर नेपालको ग्राण्ड फिनालेमा विभिन्न नृत्य समेत प्रस्तुत गरिएका थिए । कार्यक्रममा गायिका शान्ति श्रीस र उषा गुरुङले आ–आफ्नो सांगीतिक प्रस्तुती राख्नुभएको थियो ।

Advertisment