केबी नाम्जाली भुरुङ मगर स्मृति साहित्य पुरस्कार कविरत्न रूद्रलाई

पोखरा, २ पुस
यस वर्षको कवि केबी नाम्जाली भुरुङ मगर स्मृति साहित्य पुरस्कारबाट वेदान्त कविरत्न रूद्रबहादुर हितानमगर सम्मानित हुनुभएको छ । कवि नाम्जालीको ५७ औं जन्मजयन्तीका अवसरमा सोमबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार हितानमगर १० हजार रुपैयाँ नगद राशिसहित फूलमाला, भाङ्ग्रा, फेटा र सम्मानपत्रबाट सम्मानित हुनुभएको हो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची” र कविपत्नी शशी थापामगरले सो पुरस्कारबाट सम्मान गर्नुभएको थियो । सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यकार हितानमगरका नेपाली तथा मगर ढूट–भाषामा आधा दर्जन बढी साहित्यिक कृति प्रकाशित छन् । पुरस्कारका लागि साहित्यकार रूद्र “सन्देश” मगरको संयोजकत्वमा रामबहादुर थापामगर, क्या. नरेश थापामगर, यामबहादुर थापामगर र मीना थापामगर रहेको पाँच सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति खड्काले मगर भाषालगायतका मातृभाषाको संरक्षण र विकासमा प्रतिष्ठान लागिपरेको उल्लेख गर्नुभयो । युवाकवि मोतीराम भट्टले छोटो आयु लिएर आएपनि नेपाली साहित्यका लागि धेरै योगदान दिएको उल्लेख गर्दै उहाँले कवि नाम्जालीले पनि छोटो समयमा मगर साहित्यका लागि ठूलो योगदान पु¥याएको बताउनुभयो । कवि नाम्जाली भौतिक रुपमा हाम्रासामु नभएपनि आफ्ना कृतिमार्फत् अमर रहनुभएको बताउँदै कुलपति खड्काले नाम्जालीका कृतिलाई मगर भाषासँगै नेपाली भाषामा पनि प्रकाशनमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष पूर्णबहादुर रानामगरले समाजमा लुकेर रहेका कवि स्रष्टालाई बाहिर ल्याउनुपर्ने बताउँदै मगर भाषा प्रतिष्ठानले मगर भाषाको जगेर्ना गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । त्यस्तै, नेपाल मगर संघ, गण्डकी प्रदेशकी अध्यक्ष तारामाया थापामगरले मगर भाषा लोपोन्मुख अवस्थामा पुगेको भन्दै अब हरेक मगर बस्तीमा प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सम्मानित व्यक्तित्व वेदान्त कविरत्न रूद्रबहादुर हितानमगरले पुरस्कारको प्राप्तिले आफूलाई अझै केही गर्नुपर्छ भन्ने महसुस भएको उल्लेख गर्नुभयो । मगर भाषा प्रतिष्ठान कास्की शाखाका अध्यक्ष यामबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रूद्रबहादुर श्रीसमगर, सचिव मीना थापामगर, पुरस्कार छनौट समितिका सदस्य एवं नेपाल मगर संघ, कास्कीका अध्यक्ष रामबहादुर थापामगर, कवि केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोषका संरक्षक क्या. नरेश थापामगरलगायतले कवि नाम्जालीको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो भने प्रतिष्ठानकी सदस्य इन्दिरा थापामगरले सम्मानित व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।

 

Advertisment