अन्तर्राष्ट्रिय मगर महासम्मेलन भारतमा हुने

काठमाडौं, ११ चैत्र
मगर जातिको अन्तर्राष्ट्रिय महासम्मेलन आगामी वर्ष भारतमा हुने भएको छ । काठमाडौंमा यही चैत्र ९ र १० गते सम्पन्न अन्तर्राष्ट्रिय मगर सेमिनार–२०२४ ले सन् २०२५ मा भारतमा अन्तर्राष्ट्रिय मगर महासम्मेलनमा भारतमा गर्ने निर्णय गरेको हो ।
सेमिनारबारे जानारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोकामगरले सेमिनारले मगरात सभ्यताको विकास र प्रवद्र्धनका लागि अगुवाइ गर्ने निर्णय गरेको जानकारी दिनुभयो । जसका लागि सात लक्ष्य निर्धारण गरिएको समेत उहाँले बताउनुभयो ।
अध्यक्ष रोकामगरका अनुसार सात रणनीतिक लक्ष्यहरूमा मगरात सभ्यतासम्बन्धी आदिवासी ज्ञान र सचेतना अभिवृद्धि, समावेशी मगर समाजको निर्माण र प्रवद्र्धन, विश्वव्यापी व्यवस्थित संगठन सञ्जालको निर्माण, गरिबी र आर्थिक पछौटेपनबाट मुक्त हुनका लागि सामूहिक लगानीमा कर्पोरेट उद्यमशीलताको विकास, शिक्षित मगर समाज निर्माणका लागि मगर युवाहरूलाई गुणस्तरीय शिक्षाको प्रत्याभूति, मगर जातिको राजनैतिक पहुँच र प्रतिनिधित्वको वृद्धि एवं मगर जातिको राजनैतिक, सामाजिक इतिहासको पुनर्लेखनसँगै अध्ययन, अनुसन्धानमा जोड दिने रहेका छन् ।
त्यसैगरी, मगर जातिको राजनीतिक, सामाजिक इतिहासको पुनर्लेखनका लागि १ करोड रुपैयाँ राशिको मगर अनुसन्धान कोष निर्माण गर्ने घोषणा समेत गरिएको महासंघका महासचिव वीरभान घर्तीमगरले जानकारी दिनुभयो । मगरात सभ्यता र मगर पहिचानका आधारमा संसारभरका मगर जातिलाई एकताबद्ध बनाउन विशेष पहल गर्ने निर्णय गरिएको घर्तीमगरको भनाइ छ । सेमिनारले नेपालभित्र र विश्वव्यापी रुपमा आफ्नो पहिचानका लागि चलिरहेका संघर्ष र आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विभिन्न समयमा भएका आन्दोलनका क्रममा सरकारसँग भएका सन्धि सम्झौता कार्यान्वयन गराउन विशेष पहल गर्ने निर्णय समेत गरिएको उपमहासचिव रक्षाबहादुर रैकामगरले जानकारी दिनुभयो । रैकामगरका अनुसार सेमिनारमा विभिन्न २२ देशबाट मगर प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Advertisment