लखन सहकारीको सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न

पोखरा, १६ वैशाख
लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाटले पोखरा–२७, तालचोकमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।
आफ्ना शेयर सदस्यका लागि शनिबार आयोजित तालिममा करिब एक सय जना प्रशिक्षार्थी सहभागी थिए । तालिममा सहकारीको शिक्षा उपसमितिका संयोजक रूद्रबहादुर श्रीसले सहजीकरण गर्नुभएको थियो ।
तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नंं. २७ की वडा महिला सदस्य बुद्धिमाया थापाले अहिलेको समयमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता अपरिहार्य रहेको बताउनुभयो । वित्तीय ज्ञानको अभावमा विभिन्न समस्यामा पर्ने गरेको भन्दै उहाँले सहकारीका माध्यमबाट उद्यमी बन्ने अवसर प्राप्त गर्न सकिने धारणा राख्नुभयो । त्यस्तै, सहकारीका अध्यक्ष पूर्णबहादुर रानाले शेयर सदस्यको सशक्तिकरणका लागि वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको बताउनुभयो । सहकारी शिक्षाले बचत गर्ने बानीको विकास हुने भन्दै उहाँले आजको बचतले भोलीको समस्या टार्न सकिने भनाइ राख्नुभयो ।
त्यसैगरी, सहकारी संस्थाका सचिव डिलबहादुर श्रीसले सहकारीका सात सिद्धान्त, ऐन, कानून अनुसार सहकारी सञ्चालन भए कुनै किसिमको समस्या भोग्न नपर्ने बताउनुभयो । उहाँले सञ्चालक र सहकारीकर्मी सहकारीको मूल्य, मान्यता र मर्म अनुसार चल्नुपर्ने बताउनुभयो । शेयर सदस्य सुबेदार दिनबहादुर रानाले वित्तीय ज्ञान र जानकारीविना सही तरिकाले आर्थिक क्रियाकलाप सञ्चालन गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

 

 

Advertisment