प्रतिमा आलेलाई मिस मगर इन्टरनेशनलको ताज

काठमाडौं, २७ जेठ
मिस मगर इन्टरनेशनल सिजन १ को उपाधि सिंगापुरकी प्रतिमा आलेमगरले जितेकी छिन् । सुनोगाभा नेपालले पहिलोपटक आयोजना गरेको मिस मगर इन्टरनेशनको उपाधि प्रतिमाले जितेकी हुन् ।


काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा आयोजित ग्राण्ड फिनाले कार्यक्रममा उनलाई प्रतियोगिताकी प्रमुख निर्णायक, पूर्व मिस नेपाल माल्भिका सुब्बाले ताज पहिराइदिइन् । त्यसैगरी, फष्ट रनर अप स्मृति ठाडा मगर भइन् । स्मृतिलाई अभिनेत्री मिरुना मगरले फष्ट रनर अपको ताज पहिराइदिइन् । सेकेण्ड रनर अपको ताज भने क्लिया थापामगरले पहिरिन सफल भइन् । क्लियालाई मिस मगर नेपाल २०२२ की बिजेता मिलन थापामगरले ताज पहिराइदिइन् । त्यस्तै, आरती आलेमगर र निरा थापामगर भने थर्ड रनर अप हुन सफल भए ।
प्रतियोगितामा विभिन्न टाइटल बिजेता प्रतियोगीहरू मिस डिसिप्लिन रमिला घर्तीमगर, मिस पर्सनालिटी मीना पुनमगर, मिस ट्यालेन्ट डोल्मा बुढाथोकीमगर, वेष्ट क्याटवाक साराङ सोरालीमगर, वेष्ट फ्रेन्डसिप मौसमी रानामगर, पब्लिक च्वाइस अवार्ड क्लिया थापामगर, वेष्ट स्माइल आरती आलेमगर, मिस फोटोजेनिक जस्मिन पुनमगरलाई पनि पुरस्कृत गरिएको थियो ।


कार्यक्रमकै अवसरमा “सुनोगाभा दशक पत्रकारिता पुरस्कार”बाट पत्रकार उजिर मगर, “सुनोगाभा दशक अमूर्त संस्कृति पुरस्कार”बाट संस्कृतिविद् डा. मीन श्रीसमगरलाई पुरस्कृत गरिएको थियो । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, सुनोगाभा नेपालका महासचिव रमेशबाबु थापामगर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति, काठमाडौंका अध्यक्ष अर्जुन थापामगरले सम्मान गर्नुभएको थियो । कार्यक्रममा नेपाल मगर महिला संघकी अध्यक्ष हिरुसरा रानामगर, नेपाल मगर संघका उपाध्यक्ष जीवन प्रवेश रोकामगर, नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष दीपसागर थापामगर, प्रायोजकको तर्फबाट रीता पाठकलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा १२ प्रतियोगी सहभागी थिए ।

Advertisment