मिस मगर इन्टरनेशनलकी फोर्थ रनर अप निरा थापामगरलाई कास्कीमा भव्य स्वागत

पोखरा, ३२ जेठ
मिस मगर इन्टरनेशनल सिजन १ की फोर्थ रनर अप निरा थापामगरलाई कास्कीमा भव्य स्वागत गरिएको छ । तनहुँको घिरिङमा जन्मिएकी निराको कार्यक्षेत्र भने कास्की हो ।
कास्कीमा रहेर आफ्नो सांगीतिक करिअरलाई अघि बढाइरहेकी निरालाई नेपाल मगर सांस्कृतिक संघ, कास्कीले भव्य स्वागत गरेको हो । निरालाई लिन मगर कलाकारको टोली पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेको थियो । उनी बुद्ध एयरको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा ओर्लिएकी हुन् ।


बिहीबार आयोजित स्वागत एवं सम्मान कार्यक्रममा निरालाई नेपाल मगर संघ, गण्डकी प्रदेशकी उपाध्यक्ष पवित्रा थापामगर, कास्की जिल्ला अध्यक्ष रामबहादुर थापामगर र नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी अध्यक्ष सरिता सारूमगरले घलेक, खादा, टीका र सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघ, गण्डकी प्रदेशकी उपाध्यक्ष पवित्रा थापामगरले युवा पुस्तामा आफ्नो भाषा, संस्कृति र भेषभूषाको संरक्षणका लागि सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो । एउटी उदीयमान कलाकार भएर पनि मिस मगर इन्टरनेशनलजस्तो महत्वपूर्ण सौन्दर्य प्रतियोगितामा भाग लिएर फोर्थ रनर अपको उपाधि जित्नु खुशीको कुरा भएको भन्दै उहाँले निरा थापामगरलाई आगामी दिनमा पनि मगर समुदायको गौरव कायम गर्ने गरी अघि बढ्न शुभकामना दिनुभयो ।
त्यस्तै, नेपाल मगर संघ, कास्कीका अध्यक्ष रामबहादुर थापामगरले नेपाल मगर सांस्कृतिक संघ, कास्कीले सक्रियतापूर्वक आफ्ना गतिविधिहरू गर्दै आएको भन्दै गायिका निरा थापामगरले मिस मगर इन्टरनेशनलमा भाग लिएर कास्कीको प्रतिनिधित्व गरी नाम राख्न सफल भएकोमा धन्यवाद र बधाई दिनुभयो । त्यसैगरी, मिस मगर इन्टरनेशनलकी फोर्थ रनर अप निरा थापामगरले आफूले सबैको साथ र माया पाएर अहिलेको स्थानसम्म आइपुग्न सफल भएको बताउनुभयो ।
नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी अध्यक्ष सरिता सारूमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ, कास्कीका सहसचिव गोविन्द पुनमगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगर, तनहुँ–पोखरा सम्पर्क समाजका उपाध्यक्ष जसबहादुर गुरुङ, एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष तिलक तिवारी, नेपाल मगर सांस्कृतिक संघ, कास्कीकी उपाध्यक्ष दिलु फगामीमगर, सचिव वसन्ती थापामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisment