दलित, जनजाति र सीमान्तकृत महिलाका लागि आयोजित सीप विकास तालिमको समापन

पोखरा, १ असार
पोखरा महानगरपालिका, सामाजिक विकास महाशाखाको आयोजना तथा वडा नं. ३० को समन्वयमा दलित, जनजाति र सीमान्तकृत महिलाका लागि आयोजित १५ दिने सीप विकास तालिमको समापन गरिएको छ ।
तालिमको समापन गर्दै गण्डकी प्रदेशसभा सदस्य राजकुमारी भुजेलले तालिममा सिकेका कुरालाई आत्मसात गरेर अघि बढ्न महिलाहरूलाई आग्रह गर्नुभयो । तालिमबाट अपेक्षित प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गर्दै उहाँले महिलाहरूलाई सीपयुक्त र दक्ष बनाउन तालिम सफल भएको महसुस गरेको बताउनुभयो । त्यस्तै, तालिमकी संयोजक एवं पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य भीमकुमारी पुन गर्बुजाले महिलाहरू आर्थिक रुपमा सक्षम हुनुपर्ने भन्दै व्यवसायमा जोडेर स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
सहभागीको तर्फबाट बोल्दै प्रशिक्षार्थी धनमाया रोकामगरले तालिमबाट सिकेको सीप आफूलाई प्रभावकारी लागेको भन्दै बजारमा किन्नु भन्दा आफ्नै हातले उत्पादन गरेर प्रयोग गर्न पाउँदा छुट्टै सन्तुष्टि मिल्ने बताउनुभयो । तालिममा प्रशिक्षक सबिता श्रेष्ठ रञ्जित र सहायक प्रशिक्षक रूद्रकुमारी पुनले सहजीकरण गर्नुभएको थियो । गत जेठ ११ गतेदेखि २५ गतेसम्म भएको तालिमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले गर्नुभएको थियो ।

Advertisment