पोखराको निर्मलपोखरीमा मगर भाषा सिकाउन दुई दिने प्रशिक्षण सुरु

पोखरा, २ असार
पोखरा महानगरपालिका वडा नं. २१, निर्मलपोखरीमा मगर भाषा सिकाउन दुई दिने प्रशिक्षण शनिबारदेखि सुरु भएको छ ।
वडा नं. २१ को सहयोगमा चिलाउनेखर्क मगर टोल विकास संस्थाको आयोजनामा मगर भाषा प्रशिक्षण सुरु भएको हो । वडा नं. २१ का चिलाउनेखर्क, धुसेनी र ठूलीस्वाँरालगायतका मगर बस्तीमा पाका पुस्ताले मगर भाषा बोले पनि नयाँ पुस्ताले बोल्न छोडेका कारण मगर भाषा जोगाउन दुई दिनको भएपनि प्रशिक्षणको आयोजना गरिएको वडा सदस्य कृष्णबहादुर थापामगरले जानकारी दिनुभयो ।
मगर भाषा प्रशिक्षणको उद्घाटन गर्दै वडाध्यक्ष दीपकप्रसाद सुवेदीले भौतिक पूर्वाधारको विकास मात्रै विकास नभएको बताउनुभयो । स्थानीय कला, भाषा र संस्कृतिको विकास पनि विकासको महत्वपूर्ण पाटो भएको भन्दै वडाध्यक्ष सुवेदीले वडाले सर्वाङ्गीण विकासमा ध्यान दिएको बताउनुभयो । त्यस्तै, वडा सदस्य सीता विश्वकर्माले मगर बस्तीमा मगर भाषा संरक्षण गर्न यस्ता प्रशिक्षणले टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै, मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले मगर समुदायको जनसंख्या ठूलो भएपनि मातृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । स्थानीय बुद्धिजीवी मानबहादुर थापामगरले मातृभाषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु चुनौतीपूर्ण बन्दै गएको भन्दै मातृभाषा संरक्षणमा समुदायसँगै राज्यले समेत विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
चिलाउनेखर्क मगर टोल विकास संस्थाकी सदस्य सीता रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा पार्वती थापामगर र श्रीकला थापामगरले पनि बोल्नुभएको थियो ।

Advertisment