पोखराको निर्मलपोखरीमा मगर भाषा प्रशिक्षण सम्पन्न

पोखरा, ३ असार
कास्कीको पोखरा महानगरपालिका वडा नं. २१, निर्मलपोखरीमा मगर भाषा प्रशिक्षण सम्पन्न भएको छ ।
चिलाउनेखर्क मगर टोल विकास संस्थाको आयोजनामा शनिबारदेखि सुरु भएको दुई दिने सो प्रशिक्षणको आइतबार समापन गरिएको हो । प्रशिक्षणको समापनमा बोल्दै वडा सदस्य कृष्णबहादुर थापाले मगर समुदायमा पछिल्लो पुस्तामा मगर भाषा हराउँदै जान थालेकोले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । वडामा बसोबास गर्ने लक्षित कार्यक्रम अन्तर्गत मगर भाषा प्रशिक्षणको आयोजना गरिएको भन्दै आगामी दिनमा पनि लक्षित समूहका लागि छुट्याएको बजेटलाई सदुपयोग गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी, मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसले नयाँ पुस्तामा मगर भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गर्दै आफ्नो मातृभाषाप्रति समुदायले नै सबैभन्दा पहिले विशेष चासो दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । समुदायको चासोसँगै राज्यले समेत लोपोन्मुख मातृभाषाको संरक्षण र उत्थानका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा प्रशिक्षक श्रीसले जोड दिनुभयो ।
चिलाउनेखर्क मगर टोल विकास संस्थाको आयोजना भएको मगर भाषा प्रशिक्षणको समापन कार्यक्रममा सिर्जनशील आमा समूहकी अध्यक्ष सरस्वती थापा, प्रशिक्षार्थीको तर्फबाट श्रीकला थापा, पार्वती थापा र शेरबहादुर रानाले आफ्नो अनुभव सुनाउनुभएको थियो ।

Advertisment