आफ्नो संस्कार, संस्कृतिलाई लोप हुन नदिऊँ : उपसभामुख थापा

पोखरा, ११ असार
गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले हरेक समुदायले आफ्नो संस्कार, संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल मगर संघ, छिनेडाँडा इकाई समितिले आयोजना गरेको नौमती बाजा प्रशिक्षण कार्यक्रमको समापनलाई सम्बोधन गर्दै उपसभामुख थापाले संस्कृति संरक्षणमा महिलाहरूको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । प्रशिक्षणमा भएको महिलाको सहभागिताले महिलाहरूलाई अवसरको खाँचो भएको भन्दै उहाँले कुनै पनि कुरामा महिलाहरू कमी नरहेको प्रमाणित गरेको बताउनुभयो । त्यसैगरी, गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले मगर समुदायले आफ्नो मातृभाषालाई लोप हुन दिन नहुने बताउनुभयो । मगर समुदायमा मगर भाषा बोल्न छोड्दै जानु चिन्ताको विषय भएको भन्दै मन्त्री आलेले भाषा र संस्कृति संरक्षणका लागि राज्यसँगै समुदायले पनि उत्तिकै चासो दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल मगर संघ, छिनेडाँडा इकाई समितिका अध्यक्ष दलबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर समुदायका अगुवाहरू पदमबहादुर पुनमगर, महावीर थापामगर, ज्योतिराम थापामगर, नेपाल मगर संघ, कास्कीकी सहकोषाध्यक्ष देउकुमारी थापामगर, चाउथे कदममार्ग इकाईकी अध्यक्ष सुनमाया आलेमगर, नमुना इकाई समितिका अध्यक्ष प्रकाश पुनमगर, बागलुङ–पोखरा मगर समाजका अध्यक्ष गजेन्द्र थापामगर, बलवीर रानामगर, कर्णबहादुर थापामगरलगायतले बोल्नुभएको थियो ।

 

Advertisment