नीति निर्माण तहमा मगर समुदायको प्रतिनिधित्व हुनुपर्छ ः सांसद् बुढामगर

पोखरा, १२ असार
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक कुसुम बुढामगरले नीति निर्माण तहमा मगर समुदायको समुचित प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति, नेपालले मंगलबार आयोजना गरेको प्रदेशस्तरीय मौलिक कौराहा सम्मेलनको उद्घाटन गर्दै सांसद् बुढामगरले मगर समुदायले केही राजनैतिक उपलब्धी हासिल गरेपनि अझै धेरै कुरा प्राप्ति गर्न बाँकी रहेको बताउनुभयो । जुनसुकै राजनीतिक दलमा क्रियाशील भएपनि समुदायको मुद्दामा एकजुट हुनुपर्ने भन्दै उहाँले सामाजिक मुद्दालाई स्थापित गर्न एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल मगर संघका केन्द्रीय सदस्य इन्द्र फालमगरले मगर जातिको सांस्कृतिक पहिचानका रुपमा रहेको कौराहाको मौलिकता जोगाउन यस सम्मेलनले टेवा पुग्ने बताउनुभयो ।


नेपाल मगर संघ, गण्डकी प्रदेशकी अध्यक्ष तारामाया थापामगरले मगर समुदायको बाहुल्यता रहेका हरेक स्थानीय तहमा मगर भाषाको पठनपाठन सुरु गर्नुपर्ने भन्दै प्रदेश सरकारले समेत मगर भाषालाई कामकाजको भाषा बनाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्रबहादुर श्रीसमगर, नेपाल मगर संघ, छिनेडाँडा इकाई समितिका अध्यक्ष दलबहादुर थापामगर, कदममार्ग टोल विकास संस्थाका उपाध्यक्ष बलबहादुर पाण्डे, नेपाल मगर संघ, चाउथे कदममार्ग इकाई समितिकी अध्यक्ष सुनमाया आलेमगर, राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालका सचिव नन्दु थापामगरलगायतले बोल्नुभएको थियो ।
पोखरा महानगरपालिकाको सहयोग र नेपाल मगर संघ, चाउथे कदममार्ग इकाई समितिको व्यवस्थापनमा भएको कार्यक्रममा तनहुँ, कास्की र नवलपुरका विभिन्न पाँच मौलिक कौराहा समूहले आ–आफ्नो प्रस्तुती राखेका थिए ।

 

Advertisment