लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष श्रीसद्वारा पदभार ग्रहण

पोखरा, १६ असार
लायन्स क्लब इन्टरनेशनल, ३२५ एम, नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको लायन वर्ष २०२३÷०२४ का नवनिर्वाचित अध्यक्ष लायन रूद्रबहादुर श्रीसले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।
नयाँ लायन वर्ष शुभारम्भको पूर्व सन्ध्यामा क्लबका नवनिर्वाचित अध्यक्ष श्रीसलाई निवर्तमान अध्यक्ष लायन उषा थापाले पदभार हस्तान्तरण गर्नुभएको हो । जुलाई १ तारिखबाट नयाँ लायन वर्ष प्रारम्भ भएको छ । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष श्रीसले डिष्ट्रिक्ट गभर्नरसमक्ष आफूले गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै क्लबलाई नयाँ उचाइमा लैजाने प्रतिज्ञा गर्नुभयो । अग्रजको मार्गनिर्देशन र सदस्यहरूको सुझावलाई आत्मसात गर्दै क्लबलाई क्रियाशील बनाउन नेतृत्वदायी भूमिका खेल्ने बताउँदै उहाँले छोटो समयमै क्लबलाई डिष्ट्रिक्टमा स्थापित बनाउन सफल भएको भन्दै संस्थापक अध्यक्ष र पूर्व अध्यक्षहरूलाई धन्यवाद समेत दिनुभयो ।
त्यसैगरी, पदभार हस्तान्तरणपछि बोल्दै निवर्तमान अध्यक्ष थापाले नवनिर्वाचित अध्यक्षले क्लबलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । लायनवाद र लायन्सको बारेमा आम जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले क्लबको नयाँ टिमलाई आफ्नो पूर्ण साथ र समर्थन रहने बताउनुभयो । क्लबकी संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्टकी रिजन चेयरपर्सन लायन कोपिला श्रीसले नवनिर्वाचित अध्यक्षको नेतृत्वबाट क्लबले धेरै आशा गरेको बताउनुभयो । आवश्यकतालाई प्राथमिकतामा राखेर सामाजिक सेवामा समर्पित हुनुपर्ने धारणा व्यक्त गर्दै उहाँले कुनै पनि कार्यलाई देखासिकीका रुपमा लिन नहुने उल्लेख गर्नुभयो ।
डिष्ट्रिक्ट क्याबिनेट को–सेक्रेटरी लायन कुलचन्द्र शर्माले लायनवाद र लायन्सको बारेमा सबैले बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै संख्यात्मक भन्दा पनि गुणात्मक हिसाबले क्लबलाई अघि बढाउन सुझाव दिनुभयो । कार्यक्रम क्लबकी निवर्तमान अध्यक्ष लायन उषा थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisment