पत्रकारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ः अर्थमन्त्री आले

पोखरा, २३ साउन
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले गण्डकी प्रदेशको सरकारले पत्रकारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
२९ औं आदिवासी दिवस तथा २४ औं फोनिज स्थापना दिवसका अवसरमा आदिवासी जनजाति पत्रकार महासघं फोनिज गण्डकी तथा फोनिज कास्की शाखाको आयोजना तथा नेवाः पत्रकार पुचः कास्कीको समन्वयमा मंगलबार आयोजित आदिवासी जनजाति संघसंस्थासँग बृहत् अन्तरसंवाद कार्यक्रममा मन्त्री आलेले सो भनाइ राख्नुभएको हो । आफूले सुने अनुसार पत्रकारिता क्षेत्रमा आम्दानी नभएपनि सक्रिय भएर लागिरहनु महत्वपूर्ण रहेको मन्त्री आलेले बताउनुभयो ।
कार्यक्रममा मन्त्री आलेले पत्रकारिता क्षेत्र र पत्रकारका विषयमा जनमानसमा अहिले धेरै भ्रम फैलिएको र यस्ता भ्रमलाई चिर्न पत्रकारले नै विशेष पहल गर्नुपर्ने बताउनुभयो । आदिवासी जनजाति एकजुट भएर लड्नुपर्ने र आफ्नो हकअधिकारका लागि एकअर्कामा समन्वय गरेर एकतापूर्वक अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष तथा फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमुले आदिवासी जनजाति पत्रकार तथा आदिवासी संघसंस्थाबीच अहिलेसम्म समन्वय हुन नसकेको बताउनुभयो । एकअर्कालाई नखोज्ने प्रवृत्ति भएकाले समस्या उत्पन्न भएको उहाँको भनाइ थियो । आदिवासी जनजातिका गतिविधि सञ्चारमाध्यममा प्रकाशन र प्रसारण हुन नसक्नु दुखद् भएको उहाँले बताउनुभयो । अध्यक्ष तमुले आदिवासी जनजाति पत्रकार तथा सघंसंस्थाबीच समन्वय हुनु आवश्यक रहेको समेत औंल्याउनुभएको छ ।


फोनिज गण्डकी प्रदेशका प्रदेश इञ्चार्ज एमबी आस्था मगरले आदिवासी जनजाति समुदायकालाई दोस्रो दर्जाको नागरिकको तहमा हेर्ने नजर बदल्नुपर्ने समय आएको बताउनुभएको छ । आदिवासी जनजाति पत्रकार तथा सघंसंस्थाबीच समन्वायत्मक भूमिका खेल्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । त्यस्तै फोनिज गण्डकीका अध्यक्ष रूद्र श्रीसमगरले समुदायगत आधारमा आदिवासी जनजातिलाई हेर्ने नजर परिर्वतन गर्न जरुरी रहेको बताउनुभएको छ । अबका दिनमा समेत यस्तै कार्यक्रम आयोजना गर्न फोनिज गण्डकी प्रदेश तयार रहेको उहाँको भनाइ थियो ।
त्यस्तै, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले आदिवासी जनजाति समुदायको बीचमा सद्भाव हुनु जरुरी रहेको बताउनुभयो । हरेक जनजातिको आ–आफ्नै संस्कार र संस्कृति रहेको र त्यसलाई जोगाउनु सोही समुदायको पहल आवश्यक भएको उहाँले औंल्याउनुभएको छ । तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र गुरुङले आदिवासी जनजाति समुदाय तथा सोही समुदायका पत्रकारबीच नै समन्वय नभएको गुनासो गर्नुभयो । आदिवासी जनजाति एकजुट भएर अगाडि बढे मात्रै समुदायगत हिसाबमा भएका रितीरिवाज तथा चालचलनलाई जोगाउन सकिने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङले आदिवासी जनजातिका समुदायबीच नै समन्वय हुन नसकिरहेको अवस्थामा पत्रकारले भूमिका खेल्नुपर्ने बताउनुभयो । आदिवासी जनजाति समुदायका व्यक्तिलाई पत्रकारिता क्षेत्रमा कसरी ल्याउने भन्ने विषयमा समेत सोच्नुपर्ने अवस्था आएको उहाँको भनाई थियो । फोनिज गण्डकी प्रदेशका उपाध्यक्ष एवं कार्यक्रम संयोजक खिमा गुरुङको अध्यक्षता तथा महासचिव धनबहादुर गुरुङ ‘सुमन’ को सञ्चालनमा भएको सो कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष ओम गुरुङ, दुरा सेवा समाज कास्कीका अध्यक्ष गोविन्द दुरा, नेवाः देय् दबू कास्कीका सचिव रिता नापित, थकाली सेवा समिति, पोखराका कार्यवाहक अध्यक्ष तेजेन्द्र तुलाचन लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

 

Advertisment