मगर संघ हङकङको २६ औं वार्षिकोत्सव भव्यतापूर्वक मनाइयो

जोर्डन, १३ अगष्ट
मगर संघ, हङकङको २६ औं वार्षिकोत्सव भव्यतापूर्वक मनाइएको छ । हङकङको जोर्डनस्थित ब्लु ओसन रेष्टुरेण्ट एण्ड बारमा वार्षिकोत्सव समारोह आयोजना गरिएको हो ।
मगर संघ, हङकङ विशेष अधिवेशन आयोजक समितिको आयोजनामा भएको २६ औं वार्षिकोत्सवमा बोल्ने वक्ताहरूले हङकङका मगर समुदायको एकतामा जोड दिएका थिए । संघका संस्थापक अध्यक्ष भोलानाथ थापामगरले मगर संघ हङकङमा कुनै पनि बहानामा एकताबाट भाग्ने छुट कसैलाई नरहेको बताउनुभयो । व्यक्तिगत स्वार्थमा नलागी मगर समुदायको हितका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले विभाजित भएर कसैलाई फाइदा नहुने बताउनुभयो ।


नेपाल मगर महिला संघकी विदेश सचिव नीता थापामगरले मगर संघ हङकङको गर्विलो इतिहासलाई कायम राख्न हङकङका मगर समुदाय एक हुनुको विकल्प नभएको बताउनुभयो । आधिकारिक रुपमा मगर संघ हङकङको विशेष अधिवेशन आयोजक समिति बनिसकेकाले आयोजक समितिसँग एकताबद्ध हुन आह्वान गर्दै उहाँले मगर संघ हङकङ अहिले एकताबद्ध रहेको बताउनुभयो । मगर संघ, हङकङका पूर्व अध्यक्ष नेत्र पहराईमगरले एकतामा नै बल हुने भन्दै मगर एकताले मात्र समुदायको हित हुने बताउनुभयो ।
मगर संघ हङकङ विशेष अधिवेशन आयोजक समितिका संयोजक राजु पुनमगरको अध्यक्षतामा भएको कार्यक्रममा लाङ्घाली कल्याण समाज, हङकङकी अध्यक्ष नीलम थापामगर, पुन मगर समाज हङकङका पूर्व अध्यक्ष जस चोचाङ्गीमगर, म्याग्दी प्रवासी नेपाली मञ्च (मोना), हङकङका अध्यक्ष कर्ण पुनमगर, तामाङ घेदुङ, हङकङका महासचिव कृष्णबहादुर लामा, मगर संघ, हङकङ अधिवेशन आयोजक समितिका सह–संयोजक याम बुढाथोकीमगर, पूर्व उपाध्यक्ष थल श्रीसमगरले समुदायलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा संयुक्त नृत्य समूहको नृत्य प्रस्तुती रहेको थियो भने कलाकार मनु पुनमगरको थाली नाचको प्रस्तुती राखिएको थियो । त्यस्तै, कलाकार सविना थापामगरले कौराहा तथा सालैजो गीत प्रस्तुत गरेकी थिइन् ।

 

Advertisment