देश निर्माणमा मगर समुदायको योगदान महत्वपूर्ण ः मन्त्री थापा

पोखरा, १० भदौ
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री दीपेन्द्रबहादुर थापाले देश विकासका लागि मगर समुदायको विगतदेखि नै महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ ।
आइतबार नेपाल मगर सांस्कृतिक संघ, कास्कीको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले भोलिका दिनमा पनि देश र समुदायको विकासको लागि जेजस्तो परिस्थिति सँग जुध्न तयार रहन आग्रह गर्नुभयो । अर्को प्रसंगमा उहाँले देश विकासको नाममा हिंसा भड्काउनेतिर होइन सबै एकजुट भएर देश सिंगार्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । नेपाल मगर संघ गण्डकी प्रदेशकी अध्यक्ष तारामाया थापामगरले नेपाल बहुसांस्कृतिक विविधताले सुसज्जित देश भएकोले यहाँका सबै धर्म, संस्कार र संस्कृतिलाई सबैले स्वीकार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ, कास्कीका अध्यक्ष रामबहादुर थापामगर, नेपाल मगर महिला संघकी केन्द्रीय उपाध्यक्ष फूलकुमारी थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशकी सल्लाहकार शान्ति गुरुङलगायतले भाषा संस्कार संस्कृति संरक्षणको लागि समुदाय आफै लाग्नुपर्ने बताउनुभएको थियो ।
सो अवसरमा मगर समुदायमा रहेर योगदान दिनुहुने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापा मगर, हास्यकलाकार तथा नेपाल मगर सांस्कृतिक संघ कास्कीका संस्थापक अध्यक्ष दीपक थापामगर, नृत्य निर्देशक घनश्याम पुनमगर, पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य भीमकुमारी पुनमगरलाई मन्त्री थापाले खादा, मालाले सम्मान गर्नुभएकोे थियो ।
सभाको बन्दसत्रमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष सोममाया आलेमगर (कल्पना) र संगठनको प्रगति प्रतिवेदन सचिव वसन्ती थापामगरले प्रस्तुत गर्नुभएको थियो । संघका अध्यक्ष सरिता सारु मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव बसन्ती थापा मगर र सहसचिव रामचन्द्र थापामगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष दिलु फगामीमगरले राख्नुभएको थियो । कार्यक्रममा मगर समुदायमा प्रचलित सांस्कृतिक नृत्यहरु कौरा, घाटु, सालैजो प्रस्तुत गरिएको थियो ।

Advertisment