मिस मगर नेपाल सिजन ६ को लागि आवेदन खुल्यो

पोखरा, १७ भदौ
मिस मगर नेपाल–२०२३ सिजन ६ का लागि आवेदन आह्वान गरिएको छ । एसटी क्रियशनको आयोजनामा हुन लागेको मिस मगर नेपालको नयाँ सिजनका लागि आवेदन माग गरिएको हो ।
“जातीय भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन हाम्रो अभियान” भन्ने मूल नाराका साथ सन् २०११ देखि सुरु भएको मिस मगर नेपालको नयाँ सिजनमा सहभागी हुन १७ वर्ष उमेर पूरा भएका मगर समुदायका युवतीहरूले भाग लिन सक्नेछन् । आवेदन मागसँगै मिस मगर नेपाल–२०२३ का प्रतियोगीहरूका लागि यही भदौ २३ गते अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको आयोजक एसटी क्रियशनका प्रबन्ध निर्देशक सुरज थापामगरले जानकारी दिनुभयो ।
नेपाल मगर संघ, कास्कीको आयोजना एवं रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा सुरु भएको मिस मगरमा सहभागिताका लागि देशभरिका मगर समुदायका युवतीहरूलाई आह्वान गरिएको उहाँले बताउनुभयो । पहिलो मिस मगर पोखरा–२०११ अन्नु थापामगर हाल अष्ट्रेलियामा रहेकी छिन् । मिस मगर पोखरा–२०१२ रञ्जना थापामगर हाल सिंगापुरमा रहेकी छिन् भने मिस मगर नेपाल–२०१४ उषा पाइजामगर हाल काठमाडौंमा छिन् । त्यसैगरी, मिस मगर नेपाल–२०१९ सनम गर्बुजामगर र मिस मगर नेपाल–२०२२ मिलन थापामगर पोखरामा व्यवसाय र मोडलिङ एवं अभिनय क्षेत्रमा क्रियाशील छन् ।
मिस मगर नेपालको संरक्षकमा नेपाल मगर संघ, केन्द्रीय समिति, जिल्ला समन्वय समिति, कास्की र नेपाल मगर महिला संघ, केन्द्रीय समिति रहेका छन् । मिस मगर नेपाल–२०२३ को आवेदन अवधि सकिएलगत्तै अभिमुखीकरण हुने र त्यसपछि ग्राण्ड फिनालेको मिति तय गरिने कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसमगरले जानकारी दिनुभयो । मिस मगर नेपालका प्रतियोगीहरूलाई प्रशिक्षण अवधिमा सौन्दर्यकला, भाषा, संस्कृति, नेतृत्व विकास तथा व्यक्तित्व विकासबारे प्रशिक्षण गराइने छ ।

Advertisment