मिस मगर नेपाल–२०२३ को प्रशिक्षण सुरु

पोखरा, ९ असोज
मिस मगर नेपाल–२०२३ सिजन ६ का प्रतियोगीहरूका लागि मंगलबारदेखि प्रशिक्षण सुरु भएको छ ।
प्रशिक्षण शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य कल्याण रानामगरले मगर जातिको भाषा, संस्कृति र इतिहासका बारेमा नयाँ पुस्तालाई बुझाउन यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो । मगर जातिको सघन बसोबास भएको भूमिबाट मिस मगर नेपालजस्तो कार्यक्रमले निरन्तरता पाउनु खुशीको कुरा भएको भन्दै उहाँले आगामी दिनमा पनि कार्यक्रमलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल मगर संघ, जिल्ला समन्वय समिति, कास्कीका सह–सचिव एवं संस्कृति विभाग प्रमुख शिव थापामगरले मिस मगरको छैठौं संस्करणसम्म आइपुग्दा थुप्रै उतार चढाव व्यहोरेको भन्दै मिस मगर फगत सौन्दर्य प्रतियोगिता मात्रै नभएको बताउनुभयो । मिस मगर नेपाल कार्यक्रमले सौन्दर्य प्रतियोगिताप्रतिको बुझाइमा नै परिवर्तन ल्याउन सफल भएको भन्दै उहाँले मिस मगर प्रतिभा प्रस्फुटनको प्रभावकारी माध्यम बनेको उल्लेख गर्नुभयो ।
मिस मगर नेपालको आयोजक संस्था एसटी क्रियशन म्यानेजमेण्ट प्रालिका प्रबन्ध निर्देशक सुरज थापामगरले विगतदेखि नै थुप्रै चुनौती झेल्दै मिस मगर कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गर्दै मगर समुदायको साथ, सहयोगले कार्यक्रमलाई निरन्तरता दिन हौसला मिलेको बताउनुभयो । केही समय कोभिड महामारीका कारण निरन्तरता दिन नसकेपनि गत वर्षदेखि मिस मगर नेपाललाई पुनः निरन्तरता दिइएको प्रबन्ध निर्देशक थापामगरले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसमगरले मिस मगर नेपालका प्रतियोगीहरूलाई सफलताको शुभकामना दिँदै प्रशिक्षणमा सिकाइने कुरालाई गम्भीरताका साथ लिन र आफ्नो तयारी गर्न सुझाव दिनुभयो । एक महिने प्रशिक्षणका क्रममा सिकाइने कुरालाई ध्यान दिन आग्रह गर्दै उहाँले मिस मगर नेपालबाट नेतृत्व विकास र व्यक्तित्व विकासका लागि महत्वपूर्ण उपलब्धी हासिल हुने उल्लेख गर्नुभयो ।
मिस मगर नेपाल–२०२३ सिजन ६ का अध्यक्ष एमबी आस्था मगरले अन्य सौन्दर्य प्रतियोगिता भन्दा मिस मगर नेपाल फरक प्रतियोगिता रहेको दाबी गर्नुभयो । मगर समुदायका युवतीलाई प्रतिभा प्रस्फुटनको अवसर भएको बताउँदै उहाँले प्रशिक्षणमा सिकाइने कुरालाई प्रतियोगीहरूको जीवनकालमा धेरै सकारात्मक प्रभाव पर्ने समेत विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षण शुभारम्भका अवसरमा मिस मगर नेपाल–२०२२ मिलन थापामगर, प्रतियोगिताकी वरिष्ठ कोरियोग्राफर सुस्मिता पुनमगर, कोरियोग्राफर एवं मिस मगर नेपाल–२०२२ की थर्ड रनर अप प्रियंका गर्बुजामगर, कोरियोग्राफर एलिना जिसी, अफिसियल फोटोग्राफर राज बुढामगरको उपस्थिति रहेको थियो । प्रशिक्षणका क्रममा मिस मगर प्रतियोगीहरूलाई मगर भाषा, संस्कृति, इतिहास, नेतृत्व विकास, व्यक्तित्व विकासलगायतका विषयमा प्रशिक्षण गराइने कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसमगरले जानकारी दिनुभयो ।
“मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित मिस मगर नेपाल–२०२३ सिजन ६ को ग्राण्ड फिनालेको मिति छिटै तय गरिने आयोजक संस्था एसटी क्रियशनका प्रबन्ध निर्देशक एवं कार्यक्रम निर्देशक सुरज थापामगरले जानकारी दिनुभयो । मिस मगर नेपाल–२०२३ सिजन ६ को संरक्षकका रुपमा नेपाल मगर संघ, केन्द्रीय समिति, नेपाल मगर महिला संघ, केन्द्रीय समिति र नेपाल मगर संघ, जिल्ला समन्वय समिति, कास्की रहेको छ ।
यसअघि, नेपाल मगर संघ, कास्की र रिबर्थ इभेण्टमेण्ट म्यानेजमेण्ट प्रालिले आयोजना गर्दै आएको मिस मगर नेपाल चौथो संस्करणदेखि एसटी क्रियशनले आयोजना गर्दै आएको छ । मिस मगर–२०११ अन्नु थापामगर, मिस मगर–२०१२ रञ्जना थापामगर, मिस मगर नेपाल–२०१४ उषा पाइजामगर, मिस मगर नेपाल–२०१९ सनम गर्बुजामगर र मिस मगर नेपाल–२०२२ मिलन थापामगर रहेका छन् ।

 

Advertisment