मगर संघ हङकङको एकताको विशेष अधिवेशन हुने

हङकङ, २७ सेप्टेम्बर
हङकङमा बस्ने समग्र मगर समुदायको छाता संस्था मगर संघ हङकङको एकताको विशेष अधिवेशन हुने भएको छ ।
विशेष एकता अधिवेशनका संयोजक राजु पुनले सामाजिक सञ्जालमार्फत् दिनुभएको जानकारी अनुसार आगामी अक्टोबर २२ तारिख २०२३ का दिन हङकङको जोर्डनमा उक्त अधिवेशन हुन लागेको हो । स्मरण रहोस्, गत १० औं अधिवेशनमा तत्कालीन समयको विधान अनुसार अध्यक्षको उम्मेदवारको योग्यतालाई लिएर विवाद भएपछि पूर्व उपाध्यक्ष हर्क राना र पूर्व सल्लाहकार हेमराज थापाको नेतृत्वमा मगर संघ दुई समूहमा विभाजित भएको थियो ।
मगर संघ हङकङको विधानको धारा २४ (ग) अनुसार अधिवेशनमा अध्यक्षको बन्न कार्यसमिति पदाधिकारी भइ एक कार्यकाल पूरा गरेको भन्ने व्यवस्था रहेको छ । हेमराज थापा मगर संघमा सधैं सल्लाहकार मात्र रहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि निर्वाचन आयोगले उहाँको उम्मेदवारीको लागि विधानतः योग्यता नपुगेको भन्दै खारेज गरेको थियो । तर, निर्वाचन आयोगको उक्त निर्णयलाई लत्याउँदै हेमराज थापाको समूहले छुट्टै निर्वाचन गराइ अध्यक्ष भएको घोषणा गरेको थियो ।
दुवै समूहलाई मिलाउनको लागि गत वर्ष नेपाल मगर महिला संघकी विदेश सचिव नीता थापामगरको संयोजकत्वमा एउटा एकता संयोजन समिति बनेको थियो । सो समितिको करिब १ वर्ष सम्मको गृह कार्य पश्चात् गत जुलाई महिनामा दुवै समूहका अध्यक्षले राजीनामा दिइ दुवै समिति निष्क्रिय बनाउने र पुन मगर समाज हङकङका पूर्व अध्यक्ष राजु पुनको संयोजकत्वमा एकताको विशेष अधिवेशन आयोजना गर्ने सहमति बनेको थियो । राजु पुन संयोजकत्वको टिमले मगर एकताको लागि सबै मगरहरू समक्ष उक्त अधिवेशनमा समर्थन र उपस्थितिको लागि आह्वान पनि गरेको छ ।

Advertisment