रेड प्लसलगायतका आदिवासी मुद्दामा तीन दिने राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

पोखरा, ५ कात्तिक
नेपाल आदिवासी जनजाति महासंघ, जलवायु परिवर्तन साझेदारी कार्यक्रमको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा रेड प्लस, जीसीएफ, न्याप तथा आदिवासी जनजातिका मुद्दाहरूबारे तीन दिने राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
आइतबारदेखि सुरु भएको गोष्ठीको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले गर्नुभएको थियो । पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कमा तीन दिनसम्म चलेको गोष्ठीमा जीसीएफलगायतका विषयमा टुंगाभद्र राई, जलवायु परिवर्तनबारे कुमार थापा, जलवायु परिवर्तनमा आदिवासी जनजातिका मुद्दाबारे धनमान गुरुङ, जलवायु परिवर्तनको ताजा राष्ट्रिय अनुकूलन कार्यक्रमबारे डा. महेश्वर ढकालले सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै, जलवायु परिवर्तनमा युवाहरूको भूमिकाबारे नेपाल आदिवासी जनजाति महासंघका कार्यवाहक महासचिव सुखवीर थामी, महिलाहरूको भूमिकाबारे सचिव लाक्पा ढोक्प्या, जीसीएफको राष्ट्रिय कार्यक्रमबारे यलम्बर राई, डा. मनिषराज पाण्डे, नेपाल आदिवासी जनजाति महासंघका समसामयिक मुद्दाबारे सचिव श्रुति कुमालले सहजीकरण गर्नुभएको थियो ।
तीन दिने गोष्ठीको समापनका अवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष एवं गण्डकी प्रदेशका इञ्चार्ज गणेश थकालीले हरेक जिल्लामा जलवायु परिवर्तनले आदिवासी जनजाति समुदायमा पार्ने प्रभावबारे गोष्ठी सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उपाध्यक्ष थकालीले हरेक जिल्लामा पु¥याउने योजना अनुसार नै राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।
गोष्ठीका सहभागीलाई धन्यवाद व्यक्त गर्दै महासंघकी महिला उपाध्यक्ष कृष्णकुमारी शेरचनले आदिवासी जनजाति समुदायलाई जागरुक गराउने कार्यमा युवा पुस्तालाई सक्रिय गराउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सहभागीका तर्फबाट सोमबहादुर लामा र पूजा गुरुङले पनि बोल्नुभएको थियो । गोष्ठीमा देशभरिबाट नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् सचिवालयका सदस्यहरू, महासंघ आबद्ध जातीय घटक संगठनका प्रतिनिधि, जिल्ला समन्वय परिषद्का प्रतिनिधि, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)लगायतका संस्थाका प्रतिनिधि सहभागी थिए ।

Advertisment