फोनिज पत्रकारिता पुरस्कारका लागि समाजसेवी गुरुङको ५० हजार सहयोग

रुद्र श्रीसमगर, पोखरा, २० वैशाख । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाद्वारा स्थापना गर्न लागिएको ‘फोनिज पत्रकारिता पुरस्कार’ अक्षयकोषका लागि समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले ५० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ । बिहीबार मिलन फाउण्डेशन नेपालका संरक्षक एवं मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष समेत रहनुभएका समाजसेवी गुरुङले फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरलाई सो नगद हस्तान्तरण गर्नुभयो । यसैगरी, फोनिज कास्कीले आफ्नो पाँच महिने नेपाल बसाइँ सकेर कर्मथलो हङकङ फर्कन लाग्नुभएका समाजसेवी गुरुङलाई सुखद यात्राको कामनासहित बिदाइ समेत गरेको छ ।

सो अवसरमा बोल्दै समाजसेवी गुरुङले पत्रकारहरूको हौसलास्वरुप आफूले पुरस्कारका लागि सहयोगको सुरुवात गरेको र आगामी दिनमा पनि सक्दो सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले फोनिज पत्रकारिता पुरस्कारका लागि आफूले ढोका खोलिदिएको भन्दै यसले पत्रकारहरूको वृत्ति विकासमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकीका महासचिव सुरेन्द्र गुरुङले फोनिज कास्कीले पत्रकारिता पुरस्कारका लागि सुरु गरेको अभियानप्रति खुशी व्यक्त गर्दै आफ्नो व्यक्तिगत र संस्थागत तर्फबाट ‘फोनिज पत्रकारिता पुरस्कार अक्षयकोष’का लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा समाजसेवी गुरुङलाई बिदाइ गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ का सचिव रूद्रबहादुर श्रीसले फोनिज कास्कीले सुरु गर्न लागेको फोनिज पत्रकारिता पुरस्कार अक्षयकोषका लागि सहयोगको ढोका खोलिदिनुभएकोमा आभार व्यक्त गर्नुभयो । समाजसेवी गुरुङको सहयोगले सम्पूर्ण पत्रकारिता जगतको विकासका लागि एउटा इँट्टा थप्ने काम गरेको भन्दै श्रीसले आगामी दिनमा पनि समाजसेवी गुरुङको सहयोगको अपेक्षा समेत गरेको बताउनुभयो ।
त्यसैगरी, फोनिज कास्की शाखाका अध्यक्ष एमबी आस्था मगरले पुरस्कार अक्षयकोषका लागि समाजसेवी गुरुङको सहयोग अतुलनीय रहेको भन्दै आफूहरूले फोनिज पत्रकारिता पुरस्कारलाई मूर्त रुप दिनका निम्ति सिंगो फोनिज कास्की एकढिक्का भएर लाग्ने बताउनुभयो ।

Advertisment