बेलायतमा शुक्रबार “भेडी गोठाले” देखाइने

लण्डन, ४ असोज
भेडी गोठालेको जीवन कथामा बनेको गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र ‘क्यु प्ह«ो छे’ अर्थात् “भेडी गोठाले”को बिशेष प्रदर्शन गरिने भएको छ ।
तमु प्ये ल्हु संघ युकेको आयोजनामा सामुदायिक भवन तथा क्होइबो धीं निर्माण सहयोगार्थ शुक्रबार अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गर्न लागिएको हो । भेडी गोठ गुरुङहरुको परम्परागत पेशा हो । जुन गोठमा गोठालेको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कहिले लेक, कहिले बेसी गरिरहने भेडी गोठालेको वास्ताविक जीवन कसरी बितेको हुन्छ भन्ने बिषयलाई चलचित्रमा देखाउन खोजिएको छ । मिलन डि जि ईन्टरनेशनल प्रालिको पहिलो प्रस्तुती भेडी गोठाले संयुक्त राज्य अमेरिका, हङ्गकङ्ग, कतार, नेपाल, दुबईलगायत देशहरुमा सफल प्रदर्शन भएपश्चात बेलायतमा पहिलो पटक प्रदर्शन गर्न लागिएको हो ।
मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती रहेको चलचित्रको लेखन तथा निर्देशन सुवास गुरूङले गरेका छन् । दुर्गा गुरुङ “मिलन” कार्यकारी निर्माता रहेको सो चलचित्रलाई विक्रम गुरुङ (हङकङ), देउकुुमारी गुरुङ (अञ्जना), देउकी सिंजाली (दिपिका मिलन) र विजया गुरुङ (हङकङ)ले निर्माण गरेका हुन् । अत्यन्तै मिठो गीतहरु समेत रहेको चलचित्रमा आरके गुरुङ, बसन्त सापकोटा, सूर्य गुरुङको संगीत रहेको छ । त्यस्तै, मेलिना राई, आरके गुरुङ, सुवास गुरुङ, बसन्त सापकोटा, शान्ति गुरुङले स्वर दिएका छन् । प्रकाश गुरुङ ‘काश’ को कोरियाग्राफी, सुवास गुरुङ तथा ध्वज गुरुङको नृत्य र मोहन गुरुङको मेकअप रहेको चलचित्रमा राजेश गुरुङ, आश्मी गुरुङ, सनम गुरुङ, खुशी गुरुङ, मेख गुरुङ र गौरी गुरुङको अग्रणी भूमिका रहेको छ । सामुदायिक भवन निर्माणमा सहयोगार्थ प्रर्दशन गर्न लागिएको चलचित्र हेर्नका लागि आयोजक तमु प्ये ल्हु संघ युकेले बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अनुरोध गरेको छ ।

Advertisment