दोस्रो गलकोट घुम्टे महोत्सवलाई प्रभुको साथ

गलकोट, २४ कात्तिक
आगामी मंसिर ४ गतेदेखि बागलुङको मध्यभागमा अवस्थित गलकोट नगरपालिका वडा नं. ६, हरिचौरमा हुने “दोस्रो गलकोट घुम्टे महोत्सव–२०७६”लाई मुख्य प्रायोजकका रुपमा नेपालको प्रतिष्ठित व्यवसायिक घराना प्रभु समूहले साथ दिने भएको छ ।
प्रभु समूह अन्तर्गत प्रभु बैंक लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, प्रभु टीभी लिमिटेड, प्रभु हेलिकोप्टर, प्रभु ननलाइफ इन्स्योरेन्स, प्रभु पे र प्रभु मनि ट्रान्सफर रहेका छन् । महोत्सवले प्रभु समूहको साथ पाएपछि आफूहरू उत्साहित रहेको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।


गलकोट घुम्टे पर्यटन विकास केन्द्र, गलकोट–५, हरिचौरको आयोजनामा हुन लागेको महोत्सव आगामी मंसिर ११ गतेसम्म चल्नेछ । महोत्सवमा विभिन्न स्टलहरू रहने भन्दै व्यवसायिक भन्दा पनि गलकोटको पर्यटन विकासका लागि विशुद्ध रुपमा महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका सचिवालय सदस्य यामबहादुर श्रीसले जानकारी दिनुभयो । श्रीसका अनुसार महोत्सवलाई सफल पार्न विभिन्न व्यवसायिक घराना र संघसंस्था एवं व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको छ ।
महोत्सवमार्फत् गलकोटका पर्यटकीय सम्भावना बोकेका स्थानहरूको परिचय गराउने मात्र नभइ समग्र गलकोटको समृद्धिका लागि सम्भाव्यता अध्ययन गरी गुरुयोजना बनाउने उद्देश्य समेत रहेको महोत्सव मूल आयोजक समितिका संयोजक झंकबहादुर बस्नेतले जानकारी दिनुभयो । “लोपोन्मुख संस्कृति, प्राकृतिक, ऐतिहासिक तथा जैविक सम्पदाको संरक्षण, समृद्ध गलकोट निर्माणका लागि एकीकृत विकास र पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा राष्ट्रियस्तरका चर्चित कलाकारहरूको प्रस्तुतीसँगै गलकोटका मौलिक लोकसंस्कृतिहरू सती घाँटु, सोरठी, सालैजो, यानीमाया, सरायँ नाच, सुनीमाया, झ्याउरे, गोपीचन, भुस पोल्ने, सिस्नो खोस्नेलगायतका संस्कृतिहरूको प्रदर्शन समेत गराइने संयोजक बस्नेतले बताउनुभयो ।
महोत्सवको संरक्षकका रुपमा गलकोट नगरपालिका र ताराखोला गाउँपालिका रहेका छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्ड प्रवद्र्धकका रुपमा रहेका छन् । महोत्सवले गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष–२०१९ र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विशेष भूमिका हुने समेत आयोजकको विश्वास रहेको छ ।

Advertisment