नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ, कास्कीको सपथ ग्रहण

पोखरा, २ भदौ
नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ, कास्कीको नवनिर्वाचित नेतृत्वलाई बुधबार सपथ ग्रहण गराइएको छ ।
संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जिल्ला संघका अध्यक्ष राजन सुवेदीसहित उपाध्यक्षद्वय मोहन भट्टराई, विनोदप्रसाद लामिछाने, सचिव प्रदीपराज कँडेल र कोषाध्यक्ष मदन क्षेत्रीलाई सपथ ग्रहण गराउनुभएको हो । त्यसैगरी, सदस्यहरूमा कुमानबहादुर क्षेत्री, खेम गुरुङ, कपिलबाबु भण्डारी, मिलन थापा र दिलीप गिरी रहनुभएको छ । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
बुधबार आयोजित जिल्ला संघको बैठकमा सपथ गराएपछि बोल्दै अध्यक्ष पाण्डेले खुकुरी कातालाई विश्वव्यापी बनाउन संघ लागिपरेको बताउनुभयो । राजनैतिक, वैचारिक आस्थाका आधारमा कसैलाई भेदभाव नरहेको भन्दै पाण्डेले जो पनि संघमा आबद्ध हुन सक्ने बताउनुभयो । संघको आयोजनामा आगामी असोजमा हुने नेशनल च्याम्पियनसीपको तयारीमा लाग्न निर्देशन दिँदै अध्यक्ष पाण्डेले हरेक प्रदेशले च्याम्पियनसीपमा भाग लिने खेलाडी तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
संघका सचिव एवं प्रचार विभाग प्रमुख सुरेन्द्र गुरुङले संघ यतिबेला संगठन विस्तारमा लागेको भन्दै संगठन विस्तारपछि खेलाडी उत्पादनमा लाग्ने बताउनुभयो । प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन बनाएर प्रशिक्षण सञ्चालन गर्नुपर्ने भन्दै उहाँले निकट भविष्यमा डोजो सञ्चालन गर्ने गरी अघि बढ्न जिल्ला संघलाई निर्देशन दिनुभयो ।
अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको बैठकमा संघका केन्द्रीय सदस्य मोहन बुढा, केन्द्रीय प्रचार विभाग सचिव रूद्रबहादुर श्रीस, गण्डकी प्रदेश अध्यक्ष विष्णु पुन, जिल्ला उपाध्यक्ष विनोदप्रसाद लामिछाने, सचिव प्रदीपराज कँडेललगायतले बोल्नुभएको थियो । यसअघि, कास्की जिल्ला संघको संस्थापक अध्यक्षमा अर्जुनबहादुर केसी रहनुभएको थियो ।
यसैबीच, बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ । कास्कीमा स्थानीय तह संघ गठनका लागि पोखरा महानगरपालिकामा कपिलबाबु भण्डारी, अन्नपूर्ण गाउँपालिकामा विष्णुहरि भुगाईं र रुपा गाउँपालिकामा प्रचार विभाग प्रमुख मिलन थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै, सल्लाहकारमा महेन्द्रबहादुर गोदार र सुन्दर पौडेललाई चयन गरेको छ । बाँकी सल्लाहकार पछि चयन गरिने जनाइएको छ ।

Advertisment