नेपाल मार्शल आर्टस् हाप्किडो संघ कास्कीको अध्यक्षमा गुरुङ सर्वसम्मत

पोखरा, ३ भदौ
नेपाल मार्शल आर्टस् हाप्किडो संघ, कास्कीको अध्यक्षमा रविन गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
हाप्किडो कास्कीको बिहीबार सम्पन्न प्रथम अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शीतल अधिकारी, महिला उपाध्यक्षमा कृति गिरी, सचिवमा दयाराज भण्डारी र कोषाध्यक्षमा पवि गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा हाप्किडो गण्डकीका संयोजक एमबी आस्था मगरले जानकारी दिनुभयो ।
यसैगरी, संघको कार्यसमिति सदस्यमा सुजन गुरुङ, सीता गौचन, ममता गौचन, सोनी रानामगर, होमबहादुर खड्का, अजयराज भण्डारी, निसमाया गर्बुजा र गौतम सुनार समेत निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस अघि, हाप्किडो कास्कीको प्रथम अधिवेशन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले एक समारोहका बीच उद्घाटन गर्नुभएको थियो । मन्त्री गुरुङले नवनिर्वाचित पदाधिकारी र कार्यसमितीका सदस्यहरुलाई प्रमाणपत्र वितरण समेत गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै मार्शल आर्टस संघ हाप्किडोका केन्द्रिय अध्यक्ष तथा साउथ एशियन हाप्किडो फेडेरेशनका अध्यक्ष कालीबहादुर घर्तीमगरले हाप्किडोले शिक्षामा जोड्दै व्यवसायीमुखी खेलाडी उत्पादनमा वढी जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो–“हामी पदक प्राप्त गर्ने खेलाडी मात्रै उत्पादन गर्दैनौ संस्कारयूक्त खेलाडी उत्पादनमा ध्यान दिएका छौं ।”
हाप्किडोले सन २०२२ सम्ममा एक लाख खेलाडी उत्पादन गरी वर्ल्ड हाप्किडो च्याम्पियनशिप नेपालमा आयोजना गर्ने योजना रहेको बताउँदै अध्यक्ष घर्तीमगरले नेपालका सातै प्रदेश र ६० जिल्लामा हाप्किडो खेलको विकास तीव्र रुपमा अघि बढेको बताउनुभयो ।
सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेश हाप्किडो खेलले खेलाडीको उज्ववल भविष्य संर्गै खेल संस्कृतीको विकास गर्न भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुदको विकासमा धेरै चुनौती रहेको उल्लेख गर्दै प्रदेशमा खेलकुद विकासका लागि धेरै कार्यक्रमका साथ अघि बढेको उल्लेख गर्नुभयो । प्रदेशका ९ सय सरकारी विद्यालयमा खेलकुदका कार्यक्रमहरु अघि बढाउने बताउँदै उहाँले खेलकुद विकासका लागि प्राज्ञिक व्यक्तित्वलाई समेत जोड्दै खेलकुद सवैको नैसर्गिक अधिकारका रुपमा अघि बढाउन प्रतिवद्ध रहेको बताउनुभयो ।
सो अवसरमा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीका स्वकीय सचिव तथा प्रवक्ता रोनित गुरुङले समेत आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा हाप्किडोका केन्द्रिय सल्लाहकार गोविन्द नेपालीको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा हाप्किडो कास्कीले यूवा तथा खेलकुद मन्त्री गुरुङसहित प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, परिषदका सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिँदै सम्मान गरेको थियो । कार्यक्रममा हाप्किडो खेलाडीले प्रदर्शनी खेल समेत देखाएका थिए ।

Advertisment