लखन सहकारीको अध्यक्षमा पूर्णबहादुर रानामगर

पोखरा, २० असोज
लखन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१०, रामघाट, कास्कीको १३ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा पुनः पूर्णबहादुर रानामगर निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा बुद्धिमाया थापामगर, सचिवमा डिलबहादुर श्रीसमगर, सह–सचिवमा गोविन्द थापामगर र कोषाध्यक्षमा झपटबहादुर रानामगर सर्वसम्मत निर्वाचित हुनुभएको हो । त्यसैगरी, ११ सदस्यीय सञ्चालक समितिका सदस्यहरूमा यामबहादुर थापामगर, चिजमाया थापामगर, जुनुकुमारी पुनमगर, पञ्चमाया थापामगर, धनकुमारी डिसुवामगर र लक्ष्मण पुनमगर निर्वाचित हुनुभएको छ । त्यस्तै, तिलबहादुर चितौरेमगरको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन भएको छ । लेखा समितिका सदस्यहरूमा भावना पुनमगर र टापबहादुर मास्कीमगर चयन हुनुभएको छ । ऋण उपसमिति र शिक्षा उपसमिति संयोजक एवं सदस्यहरू सञ्चालक समितिको बैठकले पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष रानामगरले जानकारी दिनुभयो ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढामगर ‘सागर’ले कोरोनाको कारणले सुस्ताएको अर्थव्यवस्थालाई गति दिन सहकारीको विशेष योगदान रहने बताउनुभयो । उहाँले लखन सहकारीले गरिरहेको सिर्जनात्मक कार्यको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।
लखन सहकारीले मन्त्री सागरलगायत सहकारीका संस्थापक अध्यक्ष क्या. कृष्णबहादुर थापामगर, संस्थापक उपाध्यक्ष विष्णुमाया पुनमगर, कानूनी सल्लाहकार महेन्द्रमान श्रेष्ठ ‘व्यथित’ र असल ऋणी मनबहादुर थापामगरलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेको थियो । संस्थाका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन सचिव डिलबहादुर श्रीसमगर र सह–सचिव गोविन्द थापामगरले गर्नुभएको थियो भने उपाध्यक्ष बुद्धिमाया थापामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment