वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड

पोखरा, २८ कात्तिक
वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र उपलब्धीमूलक बनाउनुपर्नेमा जोड दिएका हुन् ।
सोलिडारिटी सेन्टरसँगको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले वैदेशिक रोजगारीमा जाने कामदारले आफैं सचेतना अपनाए धेरै समस्याको समाधान स्वतः हुने बताउनुभयो । विभिन्न समस्यामा परेका कामदारले जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी गर्न सक्ने व्यवस्था रहेको भन्दै उहाँले वैदेशिक रोजगारसम्बन्धी सही सूचनाको अभावमा समेत धेरैले दुःख झेल्नु परेको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेशका आप्रवासी श्रमिक फोकल पर्सन खिमलाल सुवेदीले वैदेशिक रोजगारीमा गएका र फर्किएका कामदारका सम्बन्धमा अझै पनि ठोस नीति बन्न नसकेको बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगले श्रमिकहरूमाथि हुने मानवअधिकार उल्लंघनको घटनामा गन्तव्य देशको मानवअधिकार आयोगसँग सम्झौता गरेर सोझै उजुरी लिने व्यवस्था गरेको समेत उहाँले जानकारी दिनुभयो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), गण्डकी प्रदेशका अध्यक्ष रूद्र खत्रीले वैदेशिक रोजगारीलाई बन्द गर्न सक्ने अवस्था नरहेको भन्दै व्यवस्थित र सुरक्षित बनाउनु भने जरुरी रहेको बताउनुभयो । स्थानीय सरकारले ऐन र नीति नियम निर्माण गरेर वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन योगदान दिन सक्ने उहाँको भनाइ थियो । नेपाल ट्रेड युनियन कांग्रेसकी केन्द्रीय संगठन विभाग सदस्य कुलदेवी बरालले श्रमिकको समस्या समाधानका लागि सरोकारवाला निकाय र संघसंस्थाबीच समन्वय जरुरी रहेको बताउनुभयो । अखिल नेपाल ट्रेड युनियन महासंघ, गण्डकी प्रदेशका प्रतिनिधि छविलाल पौडेलले श्रमिकका लागि नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।


सो अवसरमा पोखरा महानगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा प्रमुख आभाष दाहाल, रुपा गाउँपालिकाका रोजगार संयोजक सञ्जय ढकाल, मादी गाउँपालिकाका रोजगार संयोजक विश्वराज देवकोटा र अन्नपूर्ण गाउँपालिकाका रोजगार सेवा केन्द्रका प्राविधिक सहायक सुरेश भण्डारीले स्थानीय तहमा वैदेशिक रोजगारीको अवस्थाबारे आ–आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा प्राध्यापक कृष्ण पौडेल, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, हेरालो प्रतिष्ठान, कास्कीका उपाध्यक्ष चित्रबहादुर गुरुङ, एसिया मानवअधिकार तथा सांस्कृतिक मञ्चकी कोषाध्यक्ष पार्वती पौडेल, मञ्चका संस्थापक अध्यक्ष निरज थापा, भुवन जिसी, सूर्यप्रसाद पौडेलले आ–आफ्नो वैदेशिक रोजगारीको अनुभव तथा भनाइ राख्नुभएको थियो ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सञ्जालकी सदस्य मञ्जु गुरुङले गर्नुभएको थियो भने सञ्जालका अर्का सदस्य चिरञ्जीवि बरालले स्वागत गर्नुभएको थियो । सञ्जालका अध्यक्ष रानाले वैदेशिक रोजगारीलाई बाध्यकारी नभइ स्वेच्छिक बनाउनुपर्ने बताउनुभयो ।

Advertisment