लाफा ग्रुप लिमिटेडको नयाँ सञ्चालक समिति, अध्यक्षमा पुनः आले

काठमाडौं, ८ पुस
लाफा ग्रुप लिमिटेडको चौथो वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । सञ्चालक समितिमा पूरानै अनुहार दोहोरिएका छन् ।
शनिबार सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा पूरानै सञ्चालक समितिका पदाधिकारी निर्वाचित भएका हुन् । जसमा अध्यक्षमा चन्द्रज्योति आलेसहित सञ्चालकहरूमा जंगबहादुर थापा, रक्षाबहादुर रैका, भीम रोकाय, गुप्तबहादुर राना र मनमाया थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । साधारणसभाको निर्वाचन गराउन अधिवक्ता हरिश्चन्द्र सुवेदीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको थियो ।


यसअघि, साधारणसभाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ठोस योजना लिएर आए लाफा ग्रुप लिमिटेडलाई सहयोग गर्ने वचन दिनुभयो । लगानीमैत्री वातावरण निर्माणका लागि आफू र सरकार तयार रहेको भन्दै मन्त्री आलेले पर्यटन क्षेत्रमा समेत लगानी गर्न कम्पनीलाई आग्रह गर्नुभयो । छोटो समयमा लाफा ग्रुपले प्रगति गरेको पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले इमान्दारिताका साथ व्यवसाय अघि बढाउन सुझाव समेत दिनुभयो । मन्त्रालयबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको भन्दै मन्त्री आलेले बहुवर्षीय टेन्डर हुने गरी गुरुयोजना बनाएर ल्याउन आग्रह गर्नुभयो । उहाँले अहिलेको सरकार जनताप्रति उत्तरदायी रहेको समेत बताउनुभयो ।


संघीय संसद् (प्रतिनिधिसभा)को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले मगर समुदायबाट सुरु गरी कम्पनीले सबै जाति र समुदायलाई समेटेर व्यवसाय अघि बढाएकोमा खुशी लागेको बताउनुभयो । उत्पादनमूलक क्षेत्रमा लगानी गरी अरुका लागि समेत कम्पनी उदाहरण बन्नुपर्ने धारणा राख्दै सभापति घर्तीले गैरआवासीय नेपाली र स्वदेशमा बसोबास गर्ने नेपालीको सामूहिक लगानीमा कम्पनी सञ्चालन हुनु सराहनीय भएको बताउनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती, गलकोट नगरपालिका, बागलुङकी उपप्रमुख रेनुका काउचा, नेपाल मगर संघका अध्यक्ष नवीन रोका, महेन्द्रनारायण निधि अस्पतालका अध्यक्ष कृष्णकुमार मगर, नेपाल मगर संघका केन्द्रीय सल्लाहकार अधिवक्ता गौबहादुर आले, कम्पनीका आर्थिक सल्लाहकार चार्टर्ड एकाउण्टेण्ट निल सारू, कम्पनीका सल्लाहकार दिलबहादुर थापा, हङकङमा रहेका शेयर सदस्यको तर्फबाट पुष्करदेव लुंगेली र कतारका शेयर सदस्यको तर्फबाट रेशम आलेले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लाफा ग्रुप लिमिटेडकी अध्यक्ष चन्द्रज्योति आलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चालक रक्षाबहादुर रैका र अर्का सञ्चालक गुप्तबहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रशंसनीय कार्य गरेको भन्दै कम्पनीका शेयर सदस्य शरण पिठाकोटेलाई सम्मान समेत गरिएको थियो ।

Advertisment