मगर संघ नेपालको भोली हुने गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा

पोखरा, ८ पुस
नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन यही पुस ९ र १० गते पोखरामा हुने भएको छ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको संघका गण्डकी प्रदेश संयोजक दिलबहादुर थापामगरले जानकारी दिनुभयो ।
“सम्पूर्ण प्रगतिशील, देशभक्त र जनवादी मगरहरू एक हौं, न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न अघि बढौं” भन्ने मूल नाराका साथ हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको उद्घाटन नेकपा (एमाले)का उपमहासचिव एवं गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको संयोजक थापामगरले जानकारी दिनुभयो ।
अधिवेशनका अवसरमा नेकपा (एमाले)को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यलाई बधाई ज्ञापन एवं सम्मान समेत गर्ने कार्यक्रम रहेको सह–संयोजक तारामाया थापामगरले जानकारी दिनुभयो । सह–संयोजक थापामगरका अनुसार अधिवेशनलाई एमाले उपमहासचिव गुरुङसहित सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुख किरण गुरुङ, स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी, पोलिटब्यूरो सदस्य एवं आदिवासी जनजाति फाँट इञ्चार्ज गोकुल घर्तीमगर, पोलिटब्यूरो सदस्य एवं प्रदेश सह–इञ्चार्ज जगत विश्वकर्मा, पोलिटब्यूरो सदस्य लीलाबहादुर थापामगरलगायतका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।
अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट करिब दुई सय प्रतिनिधि सहभागी हुन जनाइएको छ । अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । नेकपा (एमाले)ले पार्टी महाधिवेशन सम्पन्न भएपश्चात् आफ्ना विभिन्न जनसंगठनको अधिवेशन गर्न निर्देशन दिए अनुसार विभिन्न जनसंगठनहरूले धमाधम अधिवेशन गर्न थालेका छन् ।

Advertisment