मिलन डी.जी. इन्टरनेशनल प्रालिद्वारा जिफानको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सम्मान

पोखरा, १ वैशाख
गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को नवनिर्वाचित नयाँ नेतृत्वलाई मिलन डी.जी. इन्टरनेशनल प्रालिले बधाई ज्ञापनसँगै सम्मान गरेको छ ।
नयाँ वर्ष २०७९ को अवसरमा बिहीबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा जिफानको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र मिलन डी.जी इन्टरनेशनल प्रालिकी संरक्षक सावित्रीकुमारी गुरुङले जिफानका नवनिर्वाचित अध्यक्ष गुञ्जबहादुर गुरुङसहितका पदाधिकारी, सदस्य एवं विभाग प्रमुखहरूलाई सम्मानपत्रसँगै खादा, माला, क्रेगी, क्रमु र भाङ्ग्राले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष दुर्गा गुरुङ “मिलन” सामाजिक क्षेत्रमा उदाहरणीय व्यक्तित्व भएको बताउनुभयो । विदेशी भूमि हङकङमा कर्म क्षेत्र बनाएपनि आफ्नो जन्मथलोलाई समाजसेवी गुरुङले असाध्यै माया गर्ने गरेको बताउँदै उहाँले अब उहाँजस्तो असल व्यक्तित्व नेपाल आएर प्रत्यक्ष रुपमा समाजको नेतृत्व गर्नुपर्ने बताउनुभयो । साथै, अध्यक्ष गुरुङले जिफानको नयाँ नेतृत्वले गुरुङ चलचित्रलाई नयाँ उचाइमा पु¥याउन सक्षम हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा सम्मानितहरूको तर्फबाट जिफानका नवनिर्वाचित अध्यक्ष गुञ्जबहादुर गुरुङले बधाई र सम्मानका लागि आयोजक संस्था र अध्यक्ष दुर्गा गुरुङ “मिलन”लाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा गुरुङ चलचित्रलाई उचाइमा पु¥याउन नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मिलन डी.जी. इन्टरनेशनल प्रालिकी संरक्षक सावित्रीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिस तमुस्यो नेपाल–२०१६, नायिका एवं मोडल निशा गुरुङ र कम्पनीका प्रवक्ता रूद्रबहादुर श्रीसमगरले स्वागत मन्तव्यसँगै कार्यक्रमबारे बोल्नुभएको थियो । कार्यक्रमको सहआयोजकका रुपमा मिलन फाउण्डेशन नेपाल, मिलन वल्र्ड डट न्यूज र मिलन ट्रष्ट रहेका थिए ।
त्यसैगरी, कार्यक्रममा प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, कार्यक्रम सञ्चालिका मिस तमुस्यो नेपाल–२०१६, नायिका एवं मोडल निशा गुरुङ र गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)लाई मिलन डी.जी. इन्टरनेशनल प्रालिको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो । यसअघि, मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष एवं समाजसेवी दुर्गा गुरुङ “मिलन”को दिवंगत बुबा स्व. नरबहादुर गुरुङको तस्वीरमा माल्यार्पणपश्चात् केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

Advertisment