पोखरा–१ का वडाध्यक्ष प्रधानको पहिलो निर्णय, अपाङ्ग र गरिब विद्यार्थीलाई प्रोत्साहन भत्ता

पोखरा महानगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाध्यक्ष सहारा प्रधानले अपाङ्गता भएका व्यक्ति र गरिब तथा विपन्न विद्यार्थीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।
बिहीबार पदभार ग्रहण गर्दै वडाध्यक्ष प्रधानले वडामा अभिलेख गरिएका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई वार्षिक ५ हजार र आंशिक अपाङ्गता भएका व्यक्तिलाई वार्षिक ३ हजार प्रोत्साहन भत्ता वितरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गराउनुभएको हो । त्यस्तै, नवनिर्वाचित वडाध्यक्ष प्रधानले वडाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका विद्यार्थी पहिचान गरी सुनौलो शिक्षा कार्यक्रमको कार्यविधि तयार गरेर वार्षिक ५ हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय समेत गर्नुभएको छ ।
पहिलो दुई निर्णयमा नवनिर्वाचित वडाध्यक्ष प्रधानसहित वडा सदस्यहरू जुमकाजी गुरुङ, रामजीप्रसाद पौडेल, शोभा गुरुङ र जुकमाया दमाईले हस्ताक्षर गर्नुभएको छ । सहारा, जुमकाजी, शोभा र जुकमाया नेकपा (एमाले)बाट निर्वाचित हुनुभएको हो भने रामजी नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो । पदभार ग्रहणपछि बोल्दै वडाध्यक्ष प्रधानले आफूले कसैलाई भेदभाव नगरी सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता जनाउनुभयो । वडाभित्र सुशासन कायम गर्दै विकास, निर्माणको काममा सबैसँग सहकार्य गर्ने बताउँदै उहाँले सबैलाई साथमा लिएर वडाको समृद्धिका लागि काम गर्ने उल्लेख गर्नुभयो ।
नवनिर्वाचित वडाध्यक्ष र सदस्यहरूको पदभार ग्रहण कार्यक्रममा बोल्दै संविधानसभा सदस्य शारदा पौडेलले निर्वाचनमा पराजित उम्मेदवारलाई समेत साथमा लिएर अघि बढ्न सुझाव दिनुभयो । वडाको विकासका लागि विवादरहित भएर काम गर्न सुझाव दिँदै नेतृ पौडेलले एकताबद्ध भएर वडाको विकासमा लाग्नुपर्ने बताउनुभयो । निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य प्रा.डा. विश्वकल्याण पराजुलीले निर्वाचनका क्रममा फरक फरक पार्टीबाट प्रतिस्पर्धा गरेपनि अब भने सबैको साझा जनप्रतिनिधि भएको बताउनुभयो ।
सो अवसरमा निवर्तमान वडाध्यक्ष शारदाकुमारी पराजुली, वडा सदस्यहरू रूद्र सुवेदी, प्रेमकुमारी शाही, प्रेमदेवी परियारको बिदाइ समेत गरिएको थियो । कार्यक्रममा वडा सचिव कमलबहादुर बस्नेतले नवनिर्वाचित जनप्रतिनिधिसँग मिलेर वडालाई समृद्ध बनाउन लागिपर्ने बताउनुभयो । त्यस्तै, सो अवसरमा वडाका कर्मचारी विक्रम तिमिल्सिनाले पनि बोल्नुभएको थियो ।

Advertisment