व्यवसायिक नेतृत्वमा महिला ः चुनौती र अवसर

                                                                       –चन्द्रज्योति आलेमगर
विगतलाई हेर्ने हो भने आधा आकाश ढाक्ने महिलाहरू चुल्होचौकोमा मात्रै सीमित हुनुपर्ने अवस्था थियो । तर, आज परिस्थिति फेरिएको छ । परम्परागत मूल्य र मान्यता तोडिँदै गएका छन् । महिलाको हकमा भन्नुपर्दा सापेक्षित परिवर्तन भएको अवस्था देखिन्छ । आज हिजोको जस्तो विशुद्ध गृहिणीको पहिचानमा मात्रै बस्नुपर्ने अवस्था महिलाका निम्ति छैन । चुल्होचौको गरेर बस्ने गृहिणीको पहिचान फेरिएको छ । घर छोड्न नसक्ने हिजोको अवस्था आजकल बदलिएको छ । बदलिँदो दुनियाँसँगै महिलाको भूमिकामा पनि फेरबदल आएको छ ।
पुरुषसमान अधिकार पाउनुपर्ने माग राखी लामो समयदेखि आन्दोलित हुनुपरेको महिलाहरू आज संवैधानिक र कानूनी रुपमा अधिकारसम्पन्न बनेका छन् । हजारौंको बलिदानीपूर्ण संघर्षबाट भएको राजनैतिक परिर्वतनपश्चात् जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारी भइ कार्यान्वयनमा आएको अवस्था छ । स्थानीय तहदेखि उच्च तहसम्म महिलाको समानुपातिक समावेशी प्रतिनिधित्वका लागि गरिएको केही बाध्यकारी व्यवस्थाका कारणले देखिएको महिलाको उपस्थितिलाई हामीले सकारात्मक मान्न सक्छौं । यद्यपि, अझै जुन रुपमा नीति निर्माण तहमा महिलाको सहभागिता हुनुपर्ने हो, त्यो अझै अपर्याप्त छ । राजनैतिक र प्रशासनिक क्षेत्रमा महिलाको उपस्थिति बढ्दो रुपमा नै रहेको देखिन्छ ।
राजनैतिक रुपमा भन्दा आज महिलाले मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा पुग्न सफल भएको छ । सभामुख र प्रधानन्यायाधीश समेत महिला भइसकेका छन् । अब प्रधानमन्त्री भएर देशको कार्यकारी भूमिका सम्हाल्न मात्रै बाँकी छ । प्रशासनिक क्षेत्रमा समेत सचिव, सहसचिव स्तरमा महिलाको उपस्थिति विगतका तुलनामा बढ्दै गएको छ । समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्थाका कारण राजनीति र प्रशासनमा सन्तोषजनक उपस्थिति हुन थालेको छ । त्यति मात्र नभएर शिक्षा आर्जन र सचेतनामा भएको वृद्धिले समेत महिलाको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुगेको छ । महिला सशक्तिकरणका लागि सरकारी एवं गैरसरकारी तहबाट भएका प्रयास पनि यस निम्ति श्रेयष्कर छन् ।
व्यवसायमा महिला
वास्तवमा देश सञ्चालनका लागि अर्थतन्त्र महत्वपूर्ण पाटो हो । सबल अर्थतन्त्रविना मुलुक सञ्चालन गर्न सकिँदैन । अर्थ र उत्पादनसँग महिला र पुरुषको समान सहभागिता नभएसम्म अर्थतन्त्र बलियो बन्न सक्दैन । चुलोचौको र घरायसीमा काम मात्रै सीमित महिलाले बाहिरी वातावरणमा संघर्ष गर्नु चुनौतीपूर्ण छ । आफ्नो श्रीमानको कमाइमा भर पर्नुपर्ने अवस्थाले महिलालाई परनिर्भर बनाएको छ । महिलालाई आत्मनिर्भर बनाउनका लागि व्यवसायिक बनाउनु जरुरी छ । परम्परागत सोंच र मानसिकताबाट माथि उठ्न नसक्दा महिलाहरूलाई घरबाहिर निस्कन निकै गाह्रो छ ।
पछिल्लो समय व्यवसाय क्षेत्रमा समेत महिलाको प्रवेश हुन थालेको छ । चुलोचौको छोडेर विभिन्न पेशा र व्यवसायमा महिलाहरू सक्रिय हुन थालेका छन् । पेशागत र व्यवसायिक तवरबाट महिलाहरूले नेतृत्व गरेर आफूलाई प्रमाणित पनि गरेका छन् । खासगरी, महिलासँग व्यवसायमा लगानी गर्नका लागि पर्याप्त पूँजी हुँदैन, आत्मविश्वास पनि हुँदैन, त्यसकारण व्यवसायमा टिक्न सक्दैनन् भन्ने पुरातन मानसिकता यदाकदा अझै पनि सुन्ने गरिन्छ । तर, महिलाले साँच्चिकै व्यवसायिक सफलता हासिल गरेर आफ्नो क्षमता र दक्षता प्रमाणित गरिसकेका छन् । घरेलु उत्पादनदेखि ठूला व्यवसायिक क्षेत्रमा पनि महिलाले सहभागिता जनाउन थालेका छन् ।
व्यवसायिक नेतृत्वमा महिला
एउटी असल गृहिणीका रुपमा मात्र लिइने महिलाले आज व्यवसायिक नेतृत्व सम्हाल्न थालेका छन् । घरेलु उत्पादनमा त महिलाको भूमिका अग्रणी नै छ । तर, ठूला व्यापार, व्यवसायमा समेत महिलाको सहभागिता बढ्दै जान थालेको छ । जसमा महिलाले आफूलाई सक्षम र काबिल प्रमाणित पनि गरेका छन् । व्यवसायिक मुनाफाको कुरा मात्र होइन, व्यवसायिक प्रतिष्ठानलाई प्रणालीगत रुपमा अब्बल बनाउने कुरामा पनि महिला नेतृत्व सफल रहेको पाउन सकिन्छ । व्यवसायिक नेतृत्व सम्हाल्दै गर्दा कतिपय महिला आज आम महिलाको प्रेरक व्यक्तित्व बन्न पुगेका छन् । घर गृहस्थी मात्र होइन, व्यापार, व्यवसाय र उद्यमको क्षेत्रमा महिलाले कुशल व्यवस्थापकीय क्षमता देखाइरहेका छन् । क्षमता अभिवृद्धि र उद्यमशीलता विकासका लागि विभिन्न तवरबाट हुने तालिम र प्रशिक्षणबाट पनि महिलाहरू लाभान्वित भएका छन् । कति महिला उद्योग र व्यवसाय क्षेत्रमा आबद्ध छन् भन्ने एकिन तथ्यांक सरकारसँग छैन । दुई वर्ष अघिको तथ्यांकलाई हेर्दा कुल महिलाको ३३ प्रतिशत सत्तामा रहेको देखिन्छ भने कृषि क्षेत्रमा करिब ५८ प्रतिशत महिला आबद्ध रहेका छन् । घरेलु कामदारका रुपमा सबैभन्दा बढी ६६ प्रतिशत महिला कार्यरत छन् भने महिला उद्यमी करिब ५ प्रतिशत मात्रै रहेका छन् ।
चुनौती
कागजी रुपमा हेर्दा व्यवसाय र उद्यम क्षेत्रमा महिलाको सहभागिता वृद्धि भएको देखिएपनि व्यवहारिक रुपमा अझै अपर्याप्त देखिन्छ । महिलाको कार्यक्षमतामाथि प्रश्न उठाउने सोंच अझै हराउन सकेको छैन । हाम्रो समाजमा महिलाले गर्न सक्दैनन्, यसकारण अवसर दिनु हुँदैन भन्ने सोंच अझै हावी छ । राजनीति, प्रशासन होस् या व्यवसाय क्षेत्र, महिलालाई प्रमुख भूमिका दिन अझै पनि अस्वीकार गरिन्छ । सहायक र प्रतीकात्मक भूमिकामा मात्रै महिलालाई सीमित गर्ने गरिएको छ । नेतृत्वदायी भूमिकामा जानबाट वञ्चित गर्ने कार्यले महिला नेतृत्वको विकासमा बाधा पु¥याइरहेको छ । महिलाहरूलाई आर्थिक क्रियाकलापसँग जोड्ने र आबद्ध बनाउने किसिमको संस्कार अझै विकास हुन सकेको छैन ।
व्यवसायिक नेतृत्वको अवसर
राजनैतिक परिवर्तनसँगै महिलाहरूमा आएको सचेतनाले आर्थिक क्रियाकलापसँग जोडिनुपर्छ भन्ने धारणा बिस्तारै विकास हुँदै गएको पाइन्छ । राज्यले समेत व्यवसाय सञ्चालन र कम्पनी स्थापनामा महिलालाई निश्चित सहुलियत तथा छुट प्रदान गरेको छ । जसका कारण महिलालाई व्यवसाय र उद्यम क्षेत्रमा सहभागिताका लागि सहज वातावरण बनेको मान्न सकिन्छ । राज्यले दिएको प्राथमिकता र प्रोत्साहनले पनि महिलालाई व्यवसायमा अघि बढ्न प्रेरणा अवश्य मिलेको मान्न सकिन्छ । यस्तो अवस्थामा महिलाले आफूलाई सानै रुपको भएपनि उद्यम या व्यवसायमा संलग्न गराउनु पर्दछ । क्रियाशीलता र क्षमताका आधारमा पनि व्यवसायिक नेतृत्व लिन सकिन्छ । व्यवसायिक नेतृत्व लिन महिलाका निम्ति एउटा महत्वपूर्ण अवसर पनि हो । राज्यले नीतिगत रुपमा महिला उद्यमी र व्यवसायीका निम्ति सहज वातावरण निर्माण गर्दै गर्दा स्वाभाविक रुपमा महिलाको व्यवसायिक नेतृत्व विकासमा समेत टेवा पुगेको छ ।
अब साँच्चै महिलाले एउटा नयाँ आँट र साहस गर्ने बेला आएको छ । अब महिलाले सधैंको चुल्होचौको छोडेर बाहिरी दुनियाँमा आफ्नो दक्षता र क्षमता प्रमाणित गर्नुपर्छ । आफैं कमाएर आत्मनिर्भर बन्ने बाटोमा अग्रसर हुनु आजको आवश्यकता हो । हाम्रो व्यवसायिक दक्षता अभिवृद्धि गर्दै उद्यमशीलता र व्यवसायिकताको विकास गर्नु जरुरी छ । राष्ट्रको सबल अर्थतन्त्र निर्माणका लागि आर्थिक क्रियाकलापमा महिला सहभागिता अनिवार्य छ । त्यति मात्र होइन, उत्पादन र व्यवसायसँग महिलाको नेतृत्वदायी भूमिका पनि उत्तिकै आवश्यक छ । यसकारण व्यवसायिक नेतृत्व गर्दै गर्दा आइपर्ने तमाम चुनौती र अप्ठ्याराको सामना गर्दै आफूलाई प्रमाणित गर्नुपर्ने बेला आएको छ ।
(आलेमगर, लाफा ग्रुप लिमिटेडकी अध्यक्ष तथा नेपाल मगर संघकी उपमहासचिव समेत हुनुहुन्छ । नेपाल मगर महिला संघद्वारा प्रकाशित मुखपत्र “मास्टो/मेमा/चिम्चा”बाट यो लेख साभार गरिएको हो–सं.)

Advertisment